काँग्रेस सभापतिको घर नेकपाको कब्जामा, चुनावमा नहिड्‍न चेतावनी

नेपाल कम्युनिस्ट पार्टीले हलेसी–तुवाचुङ नगरपालिकाका मेयर इबन राईको घर–जग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको घोषणा गरेको छ ।सोमबार नेकपा खोटाङले घरमा झण्डा गाडेर घरजग्गा कब्जा गरेको घोषणा समेत गरेको छ । मेयरले राईले गुण्डा र पैसाको बलमा चुनाव जितेको, भ्रष्टाचार तथा जनताको नाममा आउने बजेट कुम्ल्याएको नेकपाले घरमा टाँसेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली काँग्रेसका क्षेत्रिय सभापति समेत रहेका राईको साबिकको मंगलटार–ं२ पर्ने हलेसी तुवाचुङ नगरपालिका–६ का नगरप्रमुख राईको नियन्त्रित घर, जग्गा, सम्पत्ति जनताले उपभोग गर्ने कुरा विज्ञप्तिमा उल्लेख छ । शनिबार राति राईको घरमा नेकपाले पार्टीको झन्डा गाडेको थियो ।

‘खोटाङ जिल्लाका जनतालाई गुन्डा र पैसाको बलमा चुनाव जितिसकेर देश लुट्न लागिपरेका खोटाङ जिल्ला मंगलटार गाविस वार्ड नं २ निवासी इबन राई दलाल संसदीय व्यवस्थाको मत्यार बनेको हुँदा निजको स्वामित्वमा रहेका सम्पूर्ण घर, जग्गा, सम्पत्ति हाम्रो पार्टीको नियन्त्रणबाट जनताले उपभोग गर्ने कुरा सम्पूर्णमा जानकारी गरिन्छ’ विज्ञप्तीमा उल्लख छ ।

नेकपाले आसन्न निर्वाचन प्रचार प्रसारमा नहिँड्नसमेत उनलाई सुझाव दिएको छ । राईले आफ्नो घरमा झण्डा गाँड्नुको साथै धम्की दिएको स्वीकार गरे । उनले एमाले र माओवादी केन्द्रबाट चुनावको प्रचारमा नहिड्न धम्की आएको बताउँदै राईले आफू मेयर पद छोड्न तयार तर काँग्रेसको प्रचारमा हिड्ने बताए ।