देउवाको किल्लामा धावा बोल्दै खगराज भट्ट

भन्छन जितेर देखाउछु

प्रधानमन्त्री शेरबहादुर देउवाको २७ वर्षदेखिको एकछत्र किल्ला भत्काउने उद्घोषसहित वाम गठबन्धनका साझा उम्मेदवार खगराज भट्ट  चुनावी मैदानमा उत्रिएका छन  । उनले देउवाकाे किल्ला भत्काउने दावी गरेका छन । डडेलधुरामा देउवाले २०४८ यता चुनावी परिणाम अरूको पोल्टामा पर्न दिएका छैनन् । गठबन्धनले देउवाविरुद्ध प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्टलाई उतारेको छ ।

पछिल्लो संविधानसभा चुनावमा देउवाले आफ्ना प्रतिस्पर्धी माओवादीकै भट्टभन्दा साढे ८ हजार मत बढी ल्याएका थिए । भट्ट ०६४ र ०७० दुवै संविधानसभा निर्वाचनमा देउवाका निकटतम प्रतिस्पर्धी थिए । ०६४ मा भट्ट जम्मा १३ सय मतले पराजित भएका थिए भने ०७० मा साढे ८ हजार मतले । त्यतिबेला एमालेका तारा जोशीले ७ हजार मत ल्याएका थिए । ०७० मा एमाले र माओवादी दुवैको भन्दा देउवाले डेढ हजार बढी मत ल्याएका थिए । भट्ट देउवाविरुद्ध तेस्रो पटक मैदानमा छन् ।

गठबन्धनका उम्मेदवार भट्टले चाररचार पटक प्रधानमन्त्री भएका देउवाले जिल्लाको बेरोजगारी समस्या समाधान गर्न नसकेको र आवश्यक मात्रामा विकास निर्माणका कामसमेत नगरेकाले डडेलधुरावासीले यस पटक उनको विकल्प खोज्ने दाबी गरेका छन् । २७ वर्षसम्म सत्ताको शिखरमा रहँदा पनि जिल्लामा उद्योगधन्दा खोल्न नसकेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने प्राविधिक शिक्षालय र अस्पताल ल्याउन नसकेको आरोप लगाउँदै वाम गठबन्धनले यस पटक डडेलधुरावासीले देउवालाई पराजित गर्ने दाबी गरेको छ । देउवाले २७ वर्षमा गर्न नसकेको विकास आफूले ५ वर्षमा गर्ने दाबीसमेत भट्टको छ ।