चुनाव

कविता

लेखक

फाटेको टालो टालेझैँ
टाल्दै थिएँ
जिन्दगी
उद्रेको सिउनझैँ
तुन्दै थिएँ जिन्दगी
फगत बिहानीको पर्खाइमा
रुझेर गएका रातहरू
वर्तमानसँग घस्रिरहेका थिए
महाभूकम्पमा चिसिएको
एक मुट्ठी सास जोगाउन
कुनै राहतका आशाहरू
छोडिएका पाइलाहरूझैँ
घुम्तीमा नै विसर्जन भैसकेका थिए
फेरि ऊ आएर
मेरो भत्केको ढोकामै
लडेको धुरीमै
एउटा पोस्टर टाँस्न खोज्यो
बल्ल मैले चाल पाएँ
चुनाव आए छ !

ए भाइ
पोस्टर त्यहाँ नटाँस
उसले पुलुक्क हेर् यो म तिर
राता आँखा तेर्स्यायो
सायद विरोधी सम्झे छ ।
किन ? ठाडै प्रश्न गर् यो
भरे नै झरीले भिजाएर च्याति हाल्छ
मेरो सरल जबाफमा
ऊ रमायो
ए केही फरक पर्दैन
यस्ता पोस्टर कति छन कति
च्यातिए भोलि अर्को टाँसौँला !

होइन भाइ
यति राम्रो चिल्लो पोस्टर
कति खर्च लाग्यो होला !
बरु एक छिन
यो धुरी उठाउन हात देउन
यत्ति खरले छाउँछु
र नेताको पोस्टर कोठामा नै टाँस्छु ।
ह्यात्तेरी के कुरा गरेको ?
तपाइँ भोट दिनुहोस न !

यस्तो जाबो घर
हार्म्रो सरकार आए पछि
भोलि नै बनाइदिहाल्छ नि !
के को चिन्ता गरेको ?
बरु तल स्कुलमा दिउँसोतिर आउनु होला
हाम्रा नेताहरूको भाषण छ !
अहिले हतार छ म हिँडेँ !
ऊ गयो
अँधेरो कालकोठरीमा गुन्जिएका
बन्दीहरूका आवजझैँ
रिजेक्टेड मेरा आवाज़को
म लागेँ पछिपछि ।

लेखक नेपाली साहित्य विकास परिषद् यूकेका  संस्थापक तथा अध्यक्ष समेत हुनुहुन्छ ।