निर्वाचनका लागि १० अर्ब खर्च गर्ने निर्वाचन आयोगको कार्यक्रम,२ अर्ब भन्दा बढी रकम भ्रमणमा मात्र खर्च हुँदै

आगामी निर्वाचनका लागि १० अर्ब भन्दा बढी रकम खर्च गर्ने निर्वाचन आयोगको कार्यक्रम रहेको छ । त्यसमध्ये २ अर्ब भन्दा बढी रकम त भ्रमणमा मात्र खर्च गर्ने योजना आयोग रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि १० अर्ब ५३ करोड ४३ लाख ४३ हजार रुपैयाँ खर्च हुने देखिएको छ ।आगामी निर्वाचनका लागि भ्रमण खर्च मात्र २ अर्ब २६ करोड ६५ लाख बजेट छुट्टयाइएको छ । यो रकम निर्वाचनमा खटिने कर्मचारीको भ्रमण शीर्षकमा जाने छ । भ्रमण खर्च मात्र कूल रकमको २१ प्रतिशत हुने देखिएको छ । ७७ जिल्लाका १ सय ६५ प्रतिनिधिसभा र ३ सय ३० प्रदेशसभा रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा ३८ लाख स्थानीय भत्तामा र अन्य भत्तामा एक अर्ब एक करोड रुपैयाँ खर्च भएको थियो ।

आयोगले निर्वाचन शिक्षा तथा अन्य कार्यक्रमको अनुगमन तथा मूल्यांकनका लागि १९ करोड आठ लाख खर्च गर्ने भएको छ । हतारमा निर्वाचन गर्ने परिपाटीले निर्वाचनका बेला गरिने कार्यक्रमको अनुगमन गर्न आयोगले त्यति नभ्याए पनि यो शीर्षकमा रकम भने छुट्याइएको छैन । आयोगले अहिले नमुना मतपत्र र निर्वाचन सामग्रीसमेत छापिसकेको छ ।

कात्तिक २५ गतेदेखि मतदाता शिक्षा कार्यकर्ता परिचालन समेत भइसकेको छ । त्यस्तै आयोगले आगामी चुनावका लागि ५ करोड ८ लाख ५० हजार इन्धनमा खर्च गर्ने भएको छ । यसअघिको स्थानीय तह चुनावमा इन्धनमा २ करोड ७७ लाख रुपैयाँ खर्च गरे पनि प्रतिनिधि तथा प्रदशेसभा चुनावमा भने यो शीर्षकअन्तर्गत खर्च छुट्याएको छैन । आसन्न निर्वाचनका लागि ३ अर्ब ७ करोड ७४ लाख खर्च गरिने भएको छ । स्थानीय चुनावमा कार्यक्रम खर्च शीर्षकमा एक अर्ब ५४ करोड रुपैयाँ खर्च गरिएको थियो ।