यस्ताे छ पप्पु कन्स्ट्रक्सनकाे नमुना काम बर्दिया बबई नदीको पुल

ठेकेदार र कर्मचारीको मिलेमतोमा ठगीको फेहरिस्त

पुल बन्छ हस्तान्तरण नभई भासिन्छ । सडक बन्छ सवारी साधन नगुड्दै विग्रन्छ । विमानस्थल बन्छ , विमान अवतरण र उडान हुन नपाउँदै गाई चर्ने गौचरन बन्छ । भवनहरु बन्छ , कार्यालयको काम सुरु नभई पानी चुहिन्छ । नेपाली जनताले रगत पसिना बगाएर कमाएको रकमको करको दोहन कसरी भइरहेको छ भन्ने ज्वलन्त उदाहरण हुन यी । ठेकेदारहरुको ठगीको फेहरिस्त बनाउँदा इतिहास लेख्ने ठेली नै बन्ला तर कंही कसैलाई कारवाही नहुँदा बर्दियाको बबईमा यस्तै कथा फेरि बगेको छ ।

बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका र बार बर्दिया नगरपालिका जोडने बबई नदीको जब्दी घाटमा निर्माण गरिएको पक्की पुल एक बर्ष समेत नपुग्दै भासिएको छ । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल निर्माण भएर हस्तान्तरण नहुँदै भासिएको हो । बर्दिया जिललाको गुलरिया नगरपालिका आवत जावत गर्ने मुख्य मार्गमा निर्माण गरिएको पक्किपुल भासिए पछि अहिले त्यसको सर्वत्र चाँसोको बिसय समेत बनेको छ ।

पुल निर्माणका समयमा निर्माण पुरा नहुँदै पुलको पश्चिम तर्फको भाग केही ढल्केको अवस्थामा भएको भएपनि निर्माण कम्पनी र सडक डिभिजन कार्यालय बाकेको लापरवाहीले अहिले पुलका तिन वटा पिलर भासिएका छन । पुलमा भएका १७ पटा पिलर मध्यमा उत्तर तर्फका ३ वटा पिलर भासिएका हुन । निर्माणका क्रममा नै स्थानिय बासिन्दाहरुले पटक पटक सडक पुलमा अनियमिता भएको भन्दै सडक डिभिजन कार्यालयको समेत ध्यानाकर्षण गराएका थिए तर भ्रष्टाचारमा निर्लिप्त निकायहरुले जनताको गुनासो कहाँ सुन्न भ्याओस र ?

गत साउँन महिनामा आएको बाढीले पुलका तिन पिलर भासिएको भए पनि निर्माण गर्न अहिले सम्म पप्पु कन्स्टकस्नले कुनै चाँसो समेत देखाएको छैन । पुल भासिएको ५ महिना पुरा हुँदा पनि पुलको पनः निर्माण शुरु गरिएको छैन । साउन महिनामा पुल भासिए पछि सडक बिभाग काठमाडौका कर्मचारी अयोध्या श्रेष्ठको संयोजकत्वमा छानबिन समिति समेत गठन गरियो । श्रेष्ठले जागिरबाट अवकास पाइसके तर उनको प्रतिवेदन कहाँ थन्किएको छ कसैलाई थाहा छैन ।

भाँसिएको पुल ५ महिना सम्म पनि निर्माण हुन नसक्नु, दोषी कर्मचारी र पप्पु कन्स्ट्रक्सनका प्रोप्राइटरलाई कारबाहीको दायरामा नल्याएका कारण अहिले पुलको यो हविगत भएको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवको निष्कर्ष छ । बर्दिया जिल्लाको जब्दी घाटमा निर्माण गरिएको पुल एउँटा प्रतिनिधि पात्र मात्र हो । पप्पु कन्ष्ट्रक्सनले नै बर्दियाको धधवार र बाँकेको नेपालगञ्जमा गरेको कालोपत्रे सडकले समेत यस अघि यस्तै बदनाम चर्चा पाएको थियो ।