रकम दिएर मतदातालाई प्रभावित पार्ने खेल रोक्न कर्मचारीहरुलाई प्रमुख निर्वाचन आयुक्त यादवको निर्देशन

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आसन्न निर्वाचनमा पैसाको चलखेल व्यापक भएको निष्कर्ष निकाल्नु भएको छ । उहाँले रकम दिएर मतदाता प्रभावित पार्ने कार्य भइरहेकोले त्यस्तो गतिविधि निरुत्साहित गर्न निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

बिहीबार राजधानीमा निर्वाचन आयोगले आयोजना गरेको मुख्य सचिव र सचिवहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त यादवले कर्मचारीहरुलाई नियन्त्रकको रुपमा आफुलाई प्रस्तुत गर्न निर्देशन दिनुभयो । उहाँले पछिल्लो समय मतदातालाई प्रभावमा पार्न पैसाको चलखेल सुरु भएको जानकारी आएको पनि बताउनुभयो ।

कार्यक्रममा निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा पौडेलले निर्वाचनमा खटिने कर्मचारीले आयोगलाई असहयोग गरेको उल्लेख गर्दै अबमा दिनमा त्यस्तो नगर्न पनि कर्मचारीहरुलाई सचेत गराउनुभएको थियो । छलफलमा मुख्यसचिव लोकदर्शन रेग्मीले निर्वाचन देशको प्रमुख प्राथमिकता भएकाले कर्मचारीको तर्फवाट कुनै समस्या पर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।