एयरलाइन्सका कर्मचारीले यात्रुमाथि रामधुलार्इ गरेपछि……….

जब भिडियो भाइरल बन्याे

भारतको राजधानी नयाँदिल्लीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुव्र्यवहार गरेको भिडियो भाइरल भएपछि सरकारले छानबिन समिति गठन गरेको छ ।

भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले यात्रुमाथि गरेको दुव्र्यवहारबारे अनुसन्धान गर्न छानबिन समिति गठन भएको हो । भारतीय नागरिक उड्डयन निकायका महानिर्देशकको संयोजकत्वमा सो समिति गठन गरिएको हो ।

घटनाको सत्यतथ्य छानबिन गरी सरकारलाई प्रतिवेदन दिन समितिलाई निर्देशन दिइएको छ । एक महिनाअघि भारतको चेन्नईबाट नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका एक यात्रुलाई विमानका कर्मचारीले दुव्र्यवहार गरेका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको सो भिडियोमा विमान कर्मचारीले यात्रुलाई बाहिर निस्किने क्रममा घाँटीमा समातेर लछारेका थिए । उनलाई कर्मचारीले अश्लील गालीगलौज गरेको भिडियो फुटेजमा सुनिन्छ । भिडियोलाई भारतका करोडौँ नागरिकले हेरिसकेका छन् ।

भिडियो भाइरल भएपछि एयरलाइन्सले सार्वजनिक रूपमा नै माफी मागेको छ । यात्रुमाथि गरिएको सो दुव्र्यवहारप्रति सर्वसाधारणले आक्रोश व्यक्त गरेपछि कम्पनीले माफी मागेको हो । घटनाको छानबिन गर्न बुधबार बिहानै छानबिन समिति गठन गरिएको भारतीय नागरिक उड्डयनमन्त्री अशोक गजापतिले जानकारी दिए । मन्त्री गजापतिले मंगलबार साँझ नै सोसम्बन्धी छानबिनका लागि समिति गठन गर्ने जानकारी दिएका थिए ।

‘एयरलाइन्सजस्तो सार्वजनिक सेवाप्रदायक निकायका कर्मचारीले यात्रुमाथि गरेको व्यवहार निन्दनीय छ, दोषीमाथि कडाभन्दा कडा कारबाही हुन्छ, घटनाको छानबिन सुरु गरिसकेका छौँ,’ मन्त्री गजापतिले भनेका छन् ।