भताभुङ्ग अबस्थामा एमाले-माके गठबन्धन

नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल देशभर लागु भएको छैन । स्थानीय अन्तरविरोधका कारण केन्द्रमा बाँडफाँड भएका सिटहरुमा बागी उम्मेवारी दर्ता भएका छन् । आकांक्षी धेरै भएका कारण बागी हुनुलाई स्वाभाविक मान्न सकिएला तर पार्टीले निर्णय नै गरेर एउटै क्षेत्रमा एमाले र माकेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

भक्तपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभामा माओवादी केन्द्रका मिलन सुवाल, प्रदेशसभा १ (क) मा माओवादी केन्द्रकै देवीप्रसाद ढकाल, एमालेका हरिशरण लामिछाने र (ख) मा माओवादी केन्द्रका रोमन शिलाकारले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा वाम गठबन्धन भए पनि एमाले र माओवादी केन्द्रले एकै प्रदेशमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । चुनावी कार्यक्रम पनि अा-अाफ्नै बनाएका छन् । दुई पार्टीबीचको स्थानीय अन्तरविरोधलाई ख्याल नगरी केन्द्रबाट क्षेत्र तोकेका कारण विवाद अाएको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाल मजदूर किसान पार्टीबाट प्रेम सुवाल, प्रदेशसभातर्फ प्रदेश नं १ (क) मा नीरज लबजू र (ख) मा सुरेन्द्रराज गोसाईंले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक)ले नेपाली काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भन्दै उम्मेदवारी दिएन भने उम्मेदवारी दर्ताका समयमा राप्रपा र काँग्रेस संयुक्त रुपमा आएर समर्थन जनाएका थिए । राप्रपाले प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएन ।

प्रदेशसभातर्फ भने प्रदेश नं १ (क) मा मुकुन्द कार्की र (ख) मा विष्णुप्रसाद त्वायनावासुले उम्मेदवारी दिएका छन् ।
विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभातर्फ दीपेश न्यौपाने र प्रदेश नं १ (क) मा कालीचरण कार्कीले उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधिसभातर्फ राजेश गोसाईंले उम्मेदवारी दिका दिए ।