बन्दी ऊ !

कविता

लेखक

बन्दी थियो ऊ
मुखियाको
दरबारमा,
उसका आखा थिए
हेर्न मनाही थियो
उसको मुख थियो
बोल्न मनाही थियो
उसका कान थिए
सुन्न मनाही थियो
उसका खुट्टा थिए
हिड्न मनाही थियो
उसका हात थिए
चलाउन मनाही थियो
त्यसैले त ,
बाबा बुढेसकालमा
गोरु सरी जोतिदा
टुलुटुलु हेर्थ्यो मात्र
आमा मुखियाको पाउ पर्दा
मन मनै रुन्थ्यो मात्र
आफ्नै अगाडी
बहिनीको बलात्कार हुदा
कर्कस चित्कार सुन्थ्यो मात्र ।

एक दिन,
गाउमा बटुवा आयो
नयाँ नयाँ बहार ल्यायो
नाच्न सिकायो
गाउन सिकायो
बर्गीय मायाँ
लाउन सिकायो
कुज्जिएका उसका खुट्टा
सल्बलाउदै चल्न थाले
टालिएका उसका आखा
ज्योति बनि बल्न थाले
थुनिएका उसका कान
मुक्ति गीतले खुल्न थाले
बाधिएका उसका हात
मुट्ठी बनि उठ्न थाले !!

ऊ लड्यो
बाबालाई मुक्त गर्न
ऊ लड्यो
आमाको शिर ठाडो पार्न
ऊ लड्यो
बहिनीको इज्जत रक्षा गर्न
ऊ लड्यो
मुखियाको चंगुलबाट
दासहरुलाई मुक्त गर्न !!

समयले काचुली फेर्यो
बनमाराले गाउ घेर्यो
आधी हुरी चल्न छाडे
आक्रोसको आगो बल्न छाडे
बटुवाले आस पायो
गास बास कपास पायो
दरबार छिर्ने बाटो खन्यो
बिचरो ऊ !!
फेरी उही दरबारमा
मुखियाको बन्दी बन्यो ।।