भारतीय कुख्यात अपराधिहरूका कारण दिनदहाडै कमलादीमा गोली चल्यो
काठमाडौंको कमलादीमा बुधबार दिनदाहाडै गोली चलेको छ । अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित तीन भारतीय नागरिक कमलादीबाट पक्राउ परेका छन् । यसले गर्दा राजधानी कति सुरक्षित छ भन्नेमा प्रश्न चिन्ह खडा भएकाे छ । प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन नजिकिदै गर्दा राजधानीमा दुर्इ पेसेवर सार्प सुटरहरू पक्राउ पर्नुलार्इ सामान्य ढंगले हेरिएकाे छैन ।
मंगलबारमात्रै स्थलमार्गबाट भैरहवाको सुनौली नाका हुँदै काठमाडौं छिरेका ती भारतीय किन पेस्तोलसहित काठमाडौं छिरेका थिए भन्ने प्रस्ट खुलिसकेको छैन । पक्राउ परेकाहरुमा भारत पञ्जावका जसबीर सिंह, अरविन्द सिंह र देवेन्द्र सिंह रहेका छन् । प्रहरीले उनीहरुलाई कमलपोखरी वृत्तमा राखेर बयान लिएको थियो । उच्च प्रहरी स्रोतका अनुसार उनी ठूलै घटना गराउन काठमाडौं छिरेको हुनसक्ने आशंका गरिएको छ ।
बुधबार अपराह्न काठमाडाैकाे प्रज्ञा भवनसंगै जाेडिएकाे गन्डकि खाजा घरमा गोली हानेर भाग्नेक्रममा दुईजनालाई प्रहरीले पक्रेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीले पेस्तोलसहित दुईजनालाई पक्रेको हो । गोली प्रहारबाट कुनै क्षति भने भएको छैन । पक्राउ पर्नेमा भारत, लुदियानाका गगनदीप सिंह र जसवीन सिंह छन् । गोली हान्ने भारतीय नागरिक रहेको र उनीहरुको साथबाट एकथान पेस्तोल र ५१ राउन्ड गोली बरामद गरिएको छ । उनीहरुलाई प्रहरी वृत्त कमलपोखरीमा राखिएको प्रहरीले जनाएको छ ।
खाजा खाएको बिल धेरै उठेको निहुँमा गोली
खाजा खाएको बिलको विवादमा गोलीकान्ड भएको खुलेको छ । प्रज्ञा भवनछेउमा रहेको गन्डकी खाजाघरमा खाजा खाएका उनीहरुले खाजाको बिल २२ सय रुपैयाँ उठेपछि झगडा गरेका थिए । त्यहीक्रममा उनीहरुले आफूहरु सादा पोसाकको प्रहरी भन्दै गोली चलाएर भागेका थिए । भाग्नेक्रममा कमलादी गणेशस्थानबाट उनीहरु पक्राउ परेका जनाइएको छ ।