सर्वेन्द्र खनालको कारबाहीमा घुस लिने तीन ट्राफिक प्रहरीको जागिर चैट

सबारी चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधबार निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बाँस्तोला छन् । उनीहरू तीनैजना रंगेहात घुससहित पक्राउ परेका हुन् ।

थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक महाशाखाका डिआइजी सर्वेन्द्र खनालले महाशाखाबाट सादा पोसाकमा छड्के पठाएका थिए । त्यस क्रममा चालकहरूसँग लिएको घुस रकमसहित उनीहरू पक्राउ परेका थिए । महाशाखाले उनीहरुलाई निलम्बन गरि कारबाही अगाडी बढाएको छ । -नयाँ पत्रिका