त्रिशुली नदीमा यात्रुबस खसेर वेपत्ता, उद्धार कार्य जारी

त्रिशुली नदीमा यात्रुवाहक बस खसेर वेपत्ता भएकाे छ । सप्तरीकाे सदरमुकाम राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस शनिबार बिहान ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको हाे । खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेकाे हाे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले बिहान अँध्यारोमै गाडी नदीमा खसेकाे खबर अाएकाे जनाएकाे छ । बससँगै धेरै यात्रुकाे अवस्था अज्ञात छ । केही यात्रु भने गाडीको झ्यालबाट बाहिर निस्केका कारण उद्धार गरिएकाे छ ।

दुर्घटनामा घाइते १५ जनामध्ये गम्भीर घाइते दुई जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ । अन्य १३ जना घाइतेको स्थानीय गजुरी सामुदायीक अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । बस नदीमा डुबेको छ । सो बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ । बसमा कति यात्रु थिए भन्ने एकीन अझै हुन सकेको छैन । प्रशासकीय अधिकृत मिश्रका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।