विप्लव भन्छन्- रगतको भेलबाट जन्मिएको हाम्रो सपना जिउँदै छ
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुक्तिको लागि विद्रोहमा उत्रिन जनतालाई आह्वान गरेका छन ।काठमाडाैकाे खुल्ला मञ्चमा अायाेजना गरिएकाे अक्टाेवर क्रान्ति दिवसमा बाेल्दै महासचिव विप्लवले साे अाह्वान गरेका हुन् । नेकपाले बुधवार खुला मञ्चमा १००औं अक्टोबर क्रान्ति दिवसका अवसरमा विशाल जनसभा कार्यक्रम अायाेजना गरेकाे छ । साे सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले दासको जीवन बाँच्नु भन्दा बलिदान गर्नु उचित हुने बताउँदै किसान, मजदुर, महिला, बुद्धिजीवी, प्रहरी र सेनालाई पनि दासता र दलालीबाट मुक्त हुन विद्रोह गर्नुपर्ने अावश्यकतामाथि जाेड दिए । देशमा अहिले दलालहरुकाे बिगबिगी रहेकाे उनकाे भनाइ थियाे ।
विप्लवले भने ‘रगतको भेलबाट जन्मिएको हाम्रो सपना जिउँदै छ । हामी बलिदान गरेर पनि नेपाल र नेपालीलाई मुक्त बनाउन तयार छौं ।’ नेपाल र नेपाली जनतालाई स्वाधीन बनाउन दलाल व्यवस्थाबाट सम्भव नभएकाे विश्लेषण गर्दै विप्लवले त्यसको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्नेमा जाेड दिए ।
विप्लवले एनसेल, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का, कर फच्र्युट आयोगका प्रमुख चुडामणी शर्मा, चन्द्रागिरी हिल्सका मालिक चन्द्र ढकालको नामै लिएर उनीहरुको सम्पति जनताको नाममा जम्मा गर्नुपर्ने बताए । भ्रष्टाचारीलाई सर्वोच्च अदालतले सुनपानी छर्केर निर्दोष सावित गरेको भन्दै आपत्ति जनाए ।
सभालाई सम्बोधन गर्दै विप्लवले असफल भइसकेको दलाल संदीय व्यवस्थाले देश र जनतालाई भलो नगर्ने बताउँदै चुनावलाई खारेज गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न सबै एकजुट हुनुपर्ने बताए ।
सिंहदरबार दलालहरु चुनावको माध्यमबाट गाउँगाउँसम्म पुगेको तर्क गर्दै संसदीय चुनावले विकास नभई दलालहरु उत्पादन गर्ने दाबी महासचिव विप्लवले गरे । दलाल संसदीय व्यवस्थाकै कारण अहिले देश सर्वाधिक संकटमा परेको दृष्टान्त पेश गर्दै स्वाधीनताको रक्षार्थ वैज्ञानिक समाजवाद स्थापना गर्न नेपाली सेना, प्रहरी, कर्मचारी र देशभक्त शक्तिहरु एक हुन अपिल गरे ।
रेमिट्यान्सलाई उनले देशलाई पराधिन बनाउने माध्यम भएको बताए । रोजगारका नाममा विदेशीको दास बनेर मर्नुको साटो देश र जनताको समृद्धिको लागि बलिदान दिनु महान कार्य हुने उनले बताए । एकीकृत जनक्रान्तिको झण्डामुनि गोलबन्द हुन युवाहरुलाई आह्वान समेत गरे ।
वाम होइन, दाम गठबन्धन
एमाले-माओवादी गठबन्धनलाई चन्दले वाम नभई दाम गठबन्धन भएको आरोप लगाए । ‘विचार, दृष्टिकोण, दर्शन केही नमिल्ने भएकाले एमाले-माओवादीलाई वाम ठबन्धन भन्न मिल्दैन,’ चन्दले भने, ‘वामपन्थीले त संसदीय राज्य व्यवस्थाको थोरै भए पनि आलोचना गर्छ । तर, एमाले-माओवादी दुवैले संसदीय व्यवस्थाको पक्षपोषण गरिरहेका छन् । उनीहरू निम्न पुँजीवादलाई पक्षपोषण गर्ने शक्ति हुन् ।’ उनले कांग्रेस काम नलाग्ने गरी थोत्रिसकेको भन्दै कांग्रेसलाई अब संग्रहालयमा राख्ने तर्क गरे ।
यस्ताे थियाे अरू नेताहरूकाे भनार्इ
अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’
त्यसैगरी सभामा बाेल्दै पार्टी स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले रुसी अक्टोबर क्रान्तिको महत्व अझै बढेको बताए । अक्टोबर क्रान्ति सम्पन्न भएको भोलिपल्टै लेनिनले रुसी जनताको सबै ऋण मुक्त गरिदिएको स्मरण गराउँदै उनले नेपालको दलाल वर्गलाई खरानी पारेर मात्र नेपाली जनतालाई मुक्त गर्न सकिने र त्यसका लागि एकीकृत जनक्रान्ति सम्पन्न गर्नुपर्ने बताए ।
स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’
त्यस्तै अर्का स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले सम्बोधन गर्दै जनतालाई धोका दिने प्रचण्ड र बाबुरामलाई टुडिखेलमा ल्याएर झुण्याउनु पर्ने बताउए । लेनिनले अक्टोबर क्रान्तिमा विजयहासिल गरिसकेपछि सम्पन्न संविधान सभामा प्रतिक्रियावादीहरुले कब्जा गरेपछि त्यसलाई विगठन गरी सोभियत सत्ता सञ्चालन गरेको उनले बताए ।
स्थायी समिति सदस्य सन्तोष बुढामगर
कार्यक्रममा स्थायी समिति सदस्य सन्तोष बुढामगरले दलाल संसदीय व्यवस्था अर्बपति/खर्बपतिको व्यवस्था रहेकाले त्यसलाई ध्वस्त पारेर वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्नेमा जाेड दिए । पार्टी प्रवक्ता प्रकाण्डले सञ्चालन गरेको सभामा पार्टी पोलिट ब्युरो सदस्य उमा भुजेल शिलु, जनक्रान्तिका महान सहिद परिवार समाजकी अध्यक्ष खुमा सुवेदी ‘विश्वक्रान्ति’ले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा सामाना सांस्कृतिक परिवार र क्षितिज परिवारले जनवादी गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।