नेताकै घरमा यसरी उडाइयाे कानुनको खिल्ली

५० लाख खर्चिएर १४ वर्षीया छाेरीकाे ३० वर्षीय युवकसँग बिहे !

६ कार्तिकका लागि विवाहको छिनिएका थियो । सोही अनुसार बेहुलीको घरमा पूर्णतयारी भएको थियो । केटीको घरमा ६ गते विहानै देखि चहलपहल बढिरहेको थियो । दिन बित्दै गयो । उनको घरमा छिमेकी र आफन्तजनको भिडभाड पनि उत्तिकै बढ्दै गयो । विवाहमा सरिक हुन विभिन्न ठाउँबाट आफन्तजनहरु आइसकेको थिए । जसले घरपरिवार र आफन्तजनमा उत्तिकै उत्साह थपेको थियो । वैवाहिक समारोहमा सहभागि हुन आउने जन्ती र आफन्तजनको स्वागतमा खानपिनका लागि विभिन्न परिकारहरु साँझसम्म तयार भइसकेको थियो । थप तयारी हुने क्रममै थियो ।

रातिको करिब ११ बजे तिर जन्तीको लाबालस्कर बेहुलीको घर आयो । करिब तीन सय भन्दा बढीको संख्यामा करिब ४० वटा गाडीमा आाएको जन्तीलाई स्वागत गर्न बेहुली पक्ष र आफन्तजन तम्तयार भएर जुटिसकेका थिए । जन्ती आएपछि शुरुमा जन्तीलाई स्वागतका लागि पानी र खाजा खुवाइयो । त्यसपछि वैवाहिक कार्यक्रम शुरु गराउन बेहुली पक्ष जुटे ।

त्यसको केही समयमै बेहुला र वेहुलीबीचको निगाह (स्वयंवर) सुरु हुन लागेको थियो । पूर्णरुपमा सिङ्गारिएर स्वयंवरको लागि वेहुली कोठाबाट प्रस्थान गर्दै थिइन् । त्यहीँ बेला उक्त समारोहमा सुरक्षाकर्मीहरुको जम्बो टोली पुग्यो । सबैलाई लाग्यो सुरक्षाकर्मीहरु विवाहमा सरिक हुन आए । त्यसले त झन् वैवाहिक समारोहमा सहभागि हुन आएकाहरु उत्साहित भए ।

तर जब प्रहरी प्रमुखले वेहुलीको उमेर कति हो ? उमेर नपुगेको केटीको विवाह गर्न पाउदैन, विवाह रोक्नुप¥यो भनेपछि उत्साहित सबैमा निराशा छायो, कोलाकल मच्चियो । खुसीले रमाइरहेकाहरुको उक्त बैवाहिक मण्डपमा । जन्तीमा सहभागि हुन आएकाहरुबीच भागाभाग चल्न थाल्यो । उक्त समयको दृश्यले सुरक्षाकर्मीहरु कुनै झडप नियन्त्रण गर्न आएको झैँ भएको बताउछन् स्थानीयहरु ।

विवाहका लागि जन्ती वेहुलीको घरमा आएर विवाह रोकिदा वेहुली पक्षलाई तनाव नहुने कुरै भएन । स्थानीयहरु र वेहुली परिवारले प्रहरीलाई पटक पटक विवाह हुनदिन आग्रह गरिरहे । तर प्रहरी प्रमुख कानुन विपरित विहे गर्न पाइदैन भनेर आफ्नो अडानबाट टसकोमस भएनन् । र विवाह नगरिकन जन्तीलाई फर्काइयो ।

यो घटना सिरहाको हो । सोमबार राति लहान नगरपालिका ६ बस्ने मोह्मद ताहिर अन्सारीको छोरी सबिला खातुन विवाह गर्न सजिएकी थिइन् । भारतको बिहार प्रदेश अन्तर्गत मधुवनी जिल्ला पद्मा ग्रामबाट मो. आशिफ एकवाल जन्ती लिएर आएका थिए ।

तर बेहुलीको उमेर नपुगेर विवाह गर्न लागेको थाहा पाएपछि विवाह रोक्न लगाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए । उनी भन्छन्–‘बाल विवाह हुन लागेको सूचना आयो, त्यसपछि विवाह भइरहेको ठाउँमा पुग्दा केटी बालिका भेटियो । त्यसैले विवाह रोक्न बाध्य भयौं । त्यसपछि बेहुला जन्ती लिएर राति नै फर्कियो ।’ उनले नयाँ पत्रिकासँग भने–‘करिब ४० वटा भन्दा बढी गाडीमा ३ सयभन्दा बढी जन्ती आएको देख्दा म नि अचम्म भए ।’

बालिका सबिला घर छेउमै रहेको लहान मेरी चिल्ड्रेन एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छिन् । बालिकाको उमेर १४ बर्ष मात्रै पुगेको छ । बेहुला एकवालको उमेर अन्दाजी २९/३० बर्ष जति रहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनले भने –‘केटा र केटीबीचको उमेर अन्तर पनि धेरै छ ।’

करिब ५० लाख भन्दा बढी खर्च

केटी बालिका भएकोले विवाह त भएन । तर बेहुली पक्षको खर्च भने करिब ५० लाखभन्दा बढि भएको छ । स्थानीयहरुका अनुसार बेहुलीको स्वागतका लागि मात्रै १० लाख जति खर्च भएको देखिन्छ । जन्तीलाई खुवाउनका लागि ८ वटा खसी काटिएको थियो । भने, गरगहना सबै किनिसकेको थियो । सजावटमा मात्रै करिब २ लाखको पण्डाल बनाइएको थियो ।

विवाहमा दाइजोको रुपमा बेहुलालाई दिन करिब ४० लाख बराबरको कार किनिएको स्थानीयहरु बताउछन् । तर सबिलाका बुवा मो. ताहिरले आफू करिब २ लाख मात्र खर्च गरेको बताए । उनले भने – ‘खर्च जति जन्तीलाई खुवाउन र सजाबट मात्र भएको भयो । विवाहका सामानहरु सबै बर्बाद भएको छ ।’ उनले थप्दै भने –‘आफूलाई कानूनी कुरा थाह थिएन । फेरी सामाजिक कुराले पनि केटा राम्रो भेटेपछि छोरीको विवाह गर्न लागेको थिए । तर मबाट ठूलो गल्ती भयो ।’

आमा उममेयरमा पराजित

सबिलाकी आमा अमिना खातुन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृ हुन् । उनी स्थानीय तहको निर्वाचनमा लहान नगरपालिकाका लागि राप्रपाबाट उपमेयर पदमा उम्मेदवारी दिएकी थिइन् । तर उनी पराजित भइन् । उनले ३ हजार १ सय ९७ मत ल्याएर चौथो स्थान हासिल गरेकी थिइन् ।

सबिलाका बुवा मो. ताहिर दोस्रो संविधानसभाका चुनावमा उम्मेदवार बनेका थिए । नेपाल लोकतान्त्रिक पार्टीबाट उनी सिरहा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका थिए । अहिले उनी जग्गा कारोबार गर्छन् ।

विवाहका लागि २० बर्ष हुनुपर्ने

नेपालको बर्तमान मुलुकी ऐन २०२० को भाग ४ मा विवाहवारी सम्बन्धी महलमा पहिलेको व्यवस्था संशोधन गरी केटा र केटी दुबैको उमेर अनिवार्य २० बर्ष पुगि सकेको हुनुपर्ने उल्लेख गरिएको छ । पहिले अभिभावकको सहमतिमा १८ बर्षमा विवाह गर्न पाउने कानूनी व्यवस्था थियो । २० बर्ष नपुगी विवाह गराएमा विवाह गराउने पण्डित, जन्ती र कुरा छिन्ने व्यक्ति (लमी)लाई एक महिना कैद र एक हजार रुपैयाँ जरिबाना गर्न सक्ने कानूनी व्यवस्था छ । नयाँ पत्रिकामा दिलीप सिंहले याे खबर लेखेका छन ।