भारतले सिक्किम निल्यो, किन अड्कियो कश्मिर ?

अाखिर किन मनाउछन् कश्मिरीहरूले अक्टोबर २७ लार्इ कालो दिन

अक्टुबर २७ लाई काश्मिरीहरुले कालो दिनको रुपमा हेर्ने गर्छन् । जम्मु काश्मिरको इतिहासमा उक्त दिन कालरात्रिको रुपमा चित्रित छ । २७ अक्टुबर इतिहासमा त्यहि दिन हो, जुन दिनमा सिंगो काश्मिरी जनताको इच्छा र भारतिय स्वत्रन्त्रता ऐन र बिभाजन योजनाको भाबना बिपरित आफ्नो सैन्य शक्ति भारतले काश्मिरी भूमिमा उतारेको थियो । त्यसैले इतिहाँसमा काश्मिरीहरूले अक्टाेबर २७ लार्इ कालाे दिनका रूपमा मनाउने गरेका छन । 

उत्तरी छिमेकमा रहेका साना देशहरुलाई आफ्नो भीमकाय पेटमा हाल्ने ‘नेहरु डक्टि्रन’ अन्ततः भारतले चाहेजस्तो भएन । सिक्किम सर्लक्कै भारतको पेटमा बिलायो । तर, त्योभन्दा पहिल्यै भारतले निलेको अर्को स्वतन्त्र देश जम्मु कश्मिर भने अहिलेसम्म उसको घाँटीमा अड्किएको माछाको हड्डी जसरी बिझाइरहेको छ ।

भारतले उसबेलै नेपाललाई पनि आफ्नो सुरक्षामा छाताभित्र हाल्न नचाहेको होइन । तर, नेपालीहरुले न त सिक्किमेले जसरी विधानसभाको सर्वसम्मतिबाट आफ्नो देश भारतलाई बुझाए, न कश्मिरका राजाले जसरी नेपालका राजाले हस्ताक्षर गरेर राष्ट्रघातको टीको लगाए । कश्मिरको संविधानसभाले जस्तो नेपालको संविधानसभाले भारतको पक्षमा निर्णय गरेन ।

 जम्मु कश्मिरको ब्यथा 

सन् १९४७ मा भारतमा गाभिनुपूर्वसम्म जम्मु कश्मिर नेपालजस्तै दक्षिण एशियाको स्वतन्त्र हिमाली राष्ट्र थियो । त्यहाँ पनि नेपालमा जस्तै हिन्दू राजा थिए । तर, राजा हरिसिंह -अहिले भारतीय नेशनल कांग्रेसका नेता करन सिंहका पिता)ले आफ्नो देश भारतलाई हस्ताक्षर गरेर बुझाए । तत्कालीन सबैभन्दा ठूलो दल ‘मुस्लिम कन्फरेन्स’का नेता शेख अब्दुल्लाले समेत हिन्दु राजाको कदमलाई साथ दिएका कारण कथित संविधानसभाबाट कश्मिरलाई भारतमा गाभ्ने निर्णय सदर गर्न सहज भयो ।

भारतले जम्मु कश्मिरलाई कागजी निर्णयबाट आफ्नो देशमा त गाभ्यो, तर सबै भूभागका जनताले भारतमा विलय हुन अस्वीकार गरे, र त्यहाँ विद्रोह सुरु भयो । कश्मिरी जनताले भारतको अधीनतालाई अस्वीकार गर्दै संघर्ष गर्न थालेको ६८ वर्ष पुगिसकेको छ । पहिलो पुस्ताको पराधीनताविरुद्ध यतिबेला तेस्रो पुस्ताले पनि संघर्ष गरिरहेको छ । र, कश्मिरमा शान्ति बहाली गर्न नसकेर भारत अहिलेसम्म रोएर हिँडिरहेको छ ।

नेपालमा मधेसीको अधिकार संविधानमा लेख भनेर राजनीतिक पाठ पढाउने भारतले कश्मिरको समस्यालाई राजनीतिक नभएर आतंकवादी समस्या बताउँदै आएको छ र राष्ट्र संघले गरेको जनमत संग्रहको निर्णयलाई समेत उसले लत्याउँदै आएको छ । भारतले आफ्नो देशमा विलय गराएको घोषणा गर्नासाथ कश्मिरमा विद्रोह भयो । त्यसपछि पश्चिमतर्फको केही भाग पाकिस्तानले लिएर ‘आजाद कश्मिर सरकार’ बनाएको र लद्दाखतर्फको वौद्ध धर्मावलम्बी बाहुल्य १२ हजार वर्ग माइल भूमि चीनले कब्जा गरेको भारतीयले गुनासो गर्दै आएका छन् ।

भारतीयहरुको के दाबी छ भने राजा हरि सिंहले शेख अब्दुल्लासँग मिलेर लिखित निर्णय गरी कश्मिर भारतलाई जिम्मा लगाएको हुनाले कश्मिर बैधानिकरुपमै भारतको अभिन्न अंग बनेको हो । साथै कश्मिरको १९५७ मा निर्वाचित संविधानसभाले गरेको निर्णयले समेत राजाको कदम अनुमोदन गरेकाले कश्मिरमा भारतको अधीन वैधानिक छ भन्ने भारतीय तर्क रहँदै आएको छ ।

बृटिसका पालाको ‘भारतीय स्वतन्त्रता अधिनियम’ अनुसार पनि कश्मिर भारतमा गाभिनु कानूनी एवं वैधानिक भएको भारतीय पक्षको तर्क रहँदै आएको छ । कश्मिरलाई स्वतन्त्र रहन दियो भने आफ्नो देशमाथि सुरक्षा खतरा आइपर्ने भारतीय तर्क छ । तर, यो दाबीलाई कश्मिरका जनताले अस्वीकार गर्दै आएका छन् । जसको प्रमाण हो, साढे ६ दशकदेखि त्यहाँ अशान्ति फैलिएको छ ।

नेपाललाई शान्ति, सहमति र राजनीतिको पाठ पढाउने भारतले कश्मिरको समस्यालाई भने दशकौंदेखि बन्दूकको आडमा समाधान गर्ने असफल एवं अलोकतान्त्रिक अभ्यास गर्दै आइरहेको छ । एउटा सार्वभौमसत्ता सम्पन्न देशलाई जब भारतमा गाभ्ने निर्णय भयो, काश्मिरी जनताले विद्रोहमार्फत् त्यसलाई अस्वीकार गरे ।
जनताको दबाव खप्न नसकेपछि भारतमा गाभिएलगत्तै तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले कश्मिरमा जनमत संग्रह गराउने प्रस्ताव अघि सारे । पाकिस्तानी नेता मोहम्मद अलि जिन्नाले जनमत संग्रहको प्रस्ताव अस्वीकार गरेको भन्दै भारत एकाएक पछि सर्‍यो ।

मुस्लिमहरुको बहुमत रहेको र हिन्दु र वौद्धहरु अल्पसंख्यक समुदायमा रहेको जम्मु-कश्मिरमा आफूमाथिको प्रहार थेग्न नसकेपछि भारतीय प्रधानमन्त्री नेहरु कश्मिरको विवाद समाधानका लागि संयुक्त राष्ट्र संघलाई गुहार्न बाध्य भए । तर, भारतको वर्तमान नेतृत्व नेहरुले कश्मिरको मुद्दालाई राष्ट्र संघमा प्रवेश गराउनु गल्ती भएको बताउन थालेको छ ।

किन  निल्यो भारतले सिक्किम किन अड्कियो कश्मिर ?

कश्मिरलाई आफ्नो बनाएको अढाइ दशकपछि सन् १९७५ मा भारतले सिक्किमलाई आफ्नो २२ औं राज्य बनायो । सिक्किमका कान्छा राजा पाल्टेन थोण्डुप नाम्ग्यालले अमिलो मन बनाएर रुँदैरुदै सिक्किम भारतलाई बुझाइएको निर्णयमा हस्ताक्षर गरे । त्यसअघि पाल्टेनले नेपालमा वीरेन्द्र राजाको राज्याभिषेकमा आएका बेला नेपाल भारतबाट स्वतन्त्र राष्ट्रका रुपमा बचेकोमा बधाइ दिएको इतिहासमा पढ्न पाइन्छ ।

अन्ततः सिक्किमको ३२ सदस्यीय विधानसभाले लेण्डुप दोर्जीको नेतृत्वमा सर्वसम्मत निर्णय गरेर आफ्नो सार्वभौम सत्ता भारतलाई सुम्पियो । राजा हुनुको नाताले पाल्तेनले आफ्नो मृत्युपत्रमा आफैं सही गरे । उनी राजाबाट हटेपछि आफ्नी अमेरिकी पत्नीले पनि उनलाई त्यागिन् ।

सिक्किमलाई भारतमा गाभ्दा त्यहाँ एकजना मानिसको पनि रगत बगेन । अहिले ४० वर्ष बित्दासम्म सिक्किममा भारतीय ‘अकुपाई’को विरोधमा कश्मिरमा जसरी कुनै आन्दोलन उठेको छैन । भारतले सिक्किमलाई सर्लक्क आफ्नो पेटमा हालेर हजमोला खाए जसरी पचाइदिएको छ ।

सिक्किम यसरी सहजै पच्नुका पछाडि यस्ता छन कारणहरू 

पहिलाे कारण

त्यहाँका राजा र राजावादीहरु नेपालका महेन्द्रजस्ता राष्ट्रवादी एवं भिजनरी थिएनन् । सन् १९४६ ताका प्रजातन्त्रका लागि दलहरुले आन्दोलन गर्दा सिक्किमे राजाले भारतको सहयोग लिएर प्रजातन्त्रवादीलाई दबाएका थिए । त्यही कारणले ७० को दशकमा आन्दोलनकारीको माग नै राजतन्त्र फाल्ने र भारतमा विलय हुने भन्ने रह्यो । ‘रअ’का प्रतिनिधि बीएस दासले गान्तोकमा बसेर चलखेल गर्ने छुट पाए ।

दोस्रो कारण

नेपालमा जसरी सिक्किममा पुरानो कम्युनिष्ट पार्टी थिएन, जसले भारतलाई विस्तारवादी भन्दै देशभित्र राष्ट्रवादी जनमत सिर्जना गरोस् । नेपालमा कम्युनिष्टहरुले बेलैमा भारतको विस्तारवादी नीतिविरुद्ध जनतालाई जागृत गराएका थिए । सिक्किममा चाँहि चीनले तिब्बतलाई जस्तै तिमीहरुलाई पनि खान्छ है भन्ने भारतको ‘फियर फ्याक्टर’ले मात्र काम गर्‍यो ।, त्यहाँ कम्युनिष्टको प्रभावै परेन ।

 तेस्रो कारण

कश्मिरलाई भारतले कब्जा गरिरहँदा त्यसको छिमेकमा पाकिस्तानजस्तो बलियो देश थियो । साथै कश्मिरका बहुसंख्यक मुस्लिम जनताको सांस्कृतिक राष्ट्रियता पाकिस्तानसँग मिल्नुले पनि काश्मिरका जनता सिक्किममा जसरी निरीह बन्नुपर्ने बाध्यता भएन । सिक्किमको पूर्वमा भुटान र पश्चिममा नेपाल छन्, जो आफैंमा भारतको ‘हेजिमोनी’ सहिरहेका छन् । चीनले ‘तिब्बत र सिक्किम तैंचुप मैचुपको नीति लियो । यी सबै परिस्थितिले गर्दा सिक्किमले कसैको साथ पाएन । र, यिनै तीनवटा परिस्थितिजन्य वाध्यताका कारणले सिक्किम सहजरुपमै भारतको गर्भमा विलीन हुन सम्भव भयो ।

काश्मिर पाकिस्तानको कि भारतको ?

र्याडक्लिफले कोरेका नक्सामा भारत प्रशासित क्षेत्र मात्रै समावेश गरिएको थियो । बेलायतको सुरक्षामा रहेका साना राज्यहरू (जहाँ रजौटाहरू राज्य गर्थे) पाकिस्तानतर्फ जाने कि भारत भनेर तय भइसकेको थिएन । पाकिस्तानको जन्म भइसकेपछि भारत र पाकिस्तानको सीमानामा पर्ने काश्मिर क्षेत्र कसको भन्ने विवाद शुरू भयो ।

मुसलमान बाहुल्य काश्मिरका राजा हरि सिंह हिन्दू थिए । पाकिस्तानबाट आक्रमण हुन थालेपछि उनी भारतको शरणमा गए र भारतमा आफ्नो राज्यलाई विलय गराउन सहमत भए । तर, कश्मिरका जनता भारतमा रहन चाहँदैनथे । उनीहरूका नेता शेख अब्दुल्लाह काश्मिर पाकिस्तानमा हुनुपर्छ भन्ने मान्यताका थिए । अब्दुल्लाहले पछि भारतमा नै काश्मिरको भविश्य छ भने पनि काश्मिरका जनता अझैसम्म विभाजित छन् । हरि सिंहको राज्य पनि खण्डित छ । केही भाग पाकिस्तानको अधीनमा छ भने बाँकी भारतले आफ्नो भूभागको रूपमा दाबी गर्दै आएको छ । भारतले पाकिस्तान प्रशासित क्षेत्रलाई पाकिस्तानले गैरकानूनी रूपमा कब्जा गरेको क्षेत्र भन्छ भने पाकिस्तानले हामीले होइन, भारतले काश्मिर कब्जा गरेको हो भन्ने गर्दछ ।

भारतले काश्मिरमा सेना परिचालन गरेको छ र उसले सीमा पारिबाट लडाकुहरू पठाई भारतीय भूमिमा आक्रमण गराउँछ भन्दै आएको छ । पाकिस्तानले भने ती लडाकुहरू स्वतन्त्रता सेनानी रहेको र आफूले उनीहरुलाई नैतिक समर्थन मात्रै गरेको बताउँदै आएको छ ।

काश्मिर विषयलाई नै लिएर भारत र पाकिस्तानवीच धेरै पटक  युद्ध भइसकेको छ । साउथ एसिया टेररिज्म पोर्टलका अनुसार १९८८ देखि २०१६ को सेप्टेम्बर महिनासम्म भारत प्रशासित काश्मिरमा मात्रै ४४ हजार ७९ जनाले ज्यान गुमाइसकेका छन् ।