गठबन्धनको चेपुवामा सिटौला, अरु को-को परे मारमा ?
निर्वाचन आयोगमा दर्ता भएको समानुपातिक उम्मेदवारको सूचीमा परिसकेका कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले झापा ३ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन्। सोमबार झापा पुगेका उनले नेता कार्यकर्तासँग भने, ‘मसँग सल्लाह नै नगरी मेरो नाम समानुपातिकमा पठाइएको छ, तर म झापा–३ बाटै निर्वाचन लड्छु।’ कार्यकर्ताले समानुपातिकमै जान आग्रह गरे आफूलाई मान्य हुने पनि उनले बताएका छन्।
एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएपछि कांग्रेसले राप्रपासँग मिलेर बलियो गठबन्धन बनाउन खोजेको छ। त्यसकै चेपुवामा सिटौलाजस्ता शीर्ष नेता पनि परेका छन्। गत संविधानसभा निर्वाचनमा सिटौलासँगै पराजित राप्रपाका राजेन्द्र लिङ्देनका लागि सिट छोड्न कांग्रेस तयार भएको छ। कांग्रेसले गत संविधानसभामा झापामा चार क्षेत्र जितेको थियो। एमालेको पकड भएको झापामा सिटौलाजस्ता प्रभावशाली नेता चुनावमा नजाँदा यसको फाइदा वाम गठबन्धनलाई हुन्छ, कांग्रेस कार्यकर्ताको मनोबल गिर्छ भन्नेहरूले पनि सिटौलालाई प्रत्यक्षमै उठ्न सुझाब दिइरहेका छन्।
विधानविपरीत बनेको समितिले मनपरि गरेको आरोप
जिल्लामा आफ्नो प्रभाव रहे पनि टिकट नपाएकोमा कांग्रेसका केही नेता असन्तुष्ट छन्। संखुवासभा कांग्रेसमा तीनपटक सभापति भएका तारामान गुरुङ प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्नबाट वञ्चित भए। उनी गत संविधानसभा निर्वाचनमा संखुवासभा १ बाट विजयी भएका थिए। संखुवासभा २ बाट जितेका दीपक खड्का यसपटक उम्मेदवार बनेका छन्। गुरुङ कृष्णप्रसाद सिटौला र खड्का महामन्त्री डा. शशांक कोइरालानिकट मानिन्छन्। ओखलढुंगामामा जिल्ला सभापति प्रदीप सुनुवार प्रदेश ‘क’ बाट सिफारिस भए पनि ‘ख’ बाट उम्मेदवार बनाइएका छन्। आफ्नो प्रभाव नभएको क्षेत्रमा उम्मेदवार बनाइएकोमा उनी दुःखी छन्।
कमला पन्त लगातार तेस्रोपटक समानुपातिक सूचीमा परेकी छिन्। त्यस्तै, बाग्लुङमा प्रभावशाली उम्मेदवार भए पनि चम्पादेवी खड्कालाई प्रत्यक्षमा उठाइएको भन्दै कांग्रेसमा असन्तुष्टि छ। कांग्रेसले युवा नेता बद्री पाण्डेलाई प्रतिनिधिसभा र प्रदेश सभा दुवैमा टिकट दिएन। प्रतिनिधिसभाको समानुपातिक सूचीमा समेत उनको नाम छैन। बाजुराका पाण्डे गत संविधानसभामा समानुपातिकबाट सांसद बनेका थिए। बाजुराबाट जिल्ला सभापति कविराज पण्डितलाई प्रतिनिधिसभाको टिकट दिइएको छ।
उम्मेदवार छान्ने १४ सदस्यीय समिति विधानविपरीत २२ सदस्यीय बनाइएको, समितिका सबै सदस्यको हस्ताक्षर नगरी टुंगो लगाइएको, केन्द्रीय समितिबाट अनुमोदन नगरिएको भन्दै नेतृत्वको आलोचना सुरु भएको छ। असन्तुष्टि जनाउनेमा कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेल पक्षका नेता छन्। ‘विधानविपरीत संसदीय समिति २२ सदस्यीय बनाइयो। अझै यसमा दुई सदस्यले थप हालीमुहाली गरेका छन्। टिकट वितरण निर्णयको माइन्युटमा समितिकै सदस्यको हस्ताक्षर छैन,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘दाबेदार र प्रभावशालीलाई समेत टिकट दिइएको छैन।’
सिट बाँडफाँडमा वाम गठबन्धन पनि अलमलमा
एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले मंगलबार नै सबै क्षेत्रको उम्मेदवार घोषणा गर्ने भने पनि सहमति गर्न सकेको छैन। एमाले र माओवादीका शीर्ष नेताबीच गौशालास्थित पशुपति भिजन होटेलमा मंगलबार अपराह्न ४ बजेदेखि साढे तीन घन्टा छलफल चलेको थियो। बैठकमा उम्मेदवार क्षेत्र निर्धारण कार्यदल प्रमुख ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव सहभागी थिए। थप छलफलका लागि बुधबार ११ बजे बैठक बस्दै छ। कार्यदलले सहमति भएका उम्मेदवार क्षेत्र निर्धारण घोषणा गर्ने भएको छ। टुंग्याउन नसकेका क्षेत्रको जिम्मा पार्टी एकता संयोजन समितिलाई बुझाउने तयारी गरेको छ। ‘हामी बुधबार दिनभर छलफल गर्छौँ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘कार्यदलले टुंग्याउन नसकेको क्षेत्र पार्टी एकता संयोजन समितिले सहमति गरेर घोषणा गर्छ।’
संयोजन समितिमा एमाले अध्यक्ष केपी ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ छन्। पहिलो चरणका ३७ प्रतिनिधिसभा सिटमध्ये एमाले २१ र माओवादीले १६ सिट लिएको छ। ३२ जिल्लाका प्रदेश सभातर्फ ७४ सिटमध्ये एमाले ४१ र माओवादीले ३३ सिट लिएका छन्। एमाले र माओवादीले ६०-४० प्रतिशत नभई ५६-४३ प्रतिशत सिट लिएका छन्। प्रदेश नम्बर २ माओवादीले ५०-५० प्रतिशत प्रतिनिधिसभा र प्रदेश सभा सिट पाउनुपर्ने दाबी गरेको छ।