बागीप्रति कठोर बन्दै ठूला दल, फकाउँदा नमाने कडा कारबाही

प्रमुख राजनीतिक दलले आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई कारबाहीको तयारी थालेका छन् ।प्रमुख दलले आन्तरिक रूपमा बागी उम्मेदवारलाई सम्झाउने तथा फकाएर उम्मेदवारी फिर्ता गराउने प्रयत्न पनि असफल भए कारबाही गर्नेगरी मातहतका कमिटीलाई निर्देशनसमेत दिएका छन् ।

नेकपा एमालेले वाम गठबन्धनका विरुद्ध प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । एमालेले उम्मेदवारी फिर्ता लिन चेतावनी दिँदै फिर्ता नलिए आगामी दिनमा कुनै पनि जिम्मेवारी नदिने गरी कारबाहीको चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका बागी उम्मेदवारसहित उसका समर्थक र प्रस्तावसमेत पाँच वर्षका लागि निष्कासित हुने भएका छन् । ‘पार्टीबाट कसैले बागी उम्मेदवारी दिएमा उम्मेदवारसहित प्रस्तावक, समर्थक पाँच वर्षका लागि स्वतः निष्कासित हुनेछन्,’ कांग्रेस अनुशासन समिति संयोजक रमेश रिजालले भने, ‘त्यसका लागि तल्लो कमिटीले केन्द्रलाई जानकारी दिनुपर्नेछ, तर केन्द्रलाई थाहा भएको खण्डमा स्वतः निष्कासित गर्नेछ ।’

कांग्रेसले यसअघि नै बागी उम्मेदवार दिएमा सदस्यतासमेत खारेज हुनेगरी निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रले पनि वाम गठबन्धनविपरीत बागी उम्मेदवारी फिर्ता लिन आफ्ना नेता–कार्यकर्तासँग आग्रह गरेको छ । माओवादी केन्द्रले उम्मेदवारी फिर्ता नलिए कारबाहीको चेतावनीसमेत दिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।