पशुपतिनाथ महास्नानको भव्य तयारी

एक समयका मकै सुब्बाले वैकुण्ठ चतुर्दशीका दिन चलाउँदै आउनुभएको पशुपतिनाथ महास्नानको भव्य तयारी गरिएको छ । यसै मौसममा धर्तीमा उब्जेका सबै अन्न अनाज, फलफूल र कन्दमूलसहित प्रशस्त पञ्चामृतद्वारा गरिने यो महास्नान गर्ने यो पल्टको पालो मकै सुब्बाका सन्तति घट्टेकुलो निवासी लक्ष्मण जोशीको परेको छ ।

जानकारका अनुसार गतवर्ष बत्तीसपुतली निवासी भरत जोशीका पालोमा यो पूजा परेको थियो । पशुपति मन्दिर परिसरको दक्षिणतर्फ दरबारका एक समयका भारदारको सालिक रहेको स्थानमा मकै सुब्बाको पनि सालिक छ तर यी सुब्बाको नाम र दर्जा भने प्रष्ट छैन । तत्कालीन राजा रणबहादुर शाहले भव्यतासाथ महास्नान गर्ने सुब्बाको ईष्र्या गर्दै सबै पूर्णिमाका दिन यस्तै महास्नान चलाएका हुन् भनिन्छ ।

राजा रणबहादुरले मकै सुब्बाको ईष्र्या मात्र गरेनन् हाल त्रिभुवन विमानस्थलको धावन मार्ग सञ्चालनमा रहेको सुब्बाको मकैबारीमा बाँदर छोडेर साँढे चर्ने चौरसमेत बनाइदिएको इतिहासमा उल्लेख छ । यिनै सुब्बाका सन्ततिले निजी खर्चमा महास्नान पर्व चलाउँदै आएका छन् ।

पशुपति गुठी गोश्वारामा मकै सुब्बाको महास्नान भन्नेसम्म अभिलेख रहेको गोश्वाराका सुब्बा श्याम दाहालले जानकारी दिनुभएको छ । सन्तति सुरेश जोशीका अनुसार गौशाला धर्मशालाले चर्चेको जग्गा पनि मकै सुब्बाकै हकदैयामा रहेको अभिलेख छ ।

अचेल यी दुवै जमिनमा सुब्बा सन्ततिको पहुँच छैन । वैकुण्ठ चतुर्दशी कात्तिक १७ गते परेको छ । यसै महास्नानको सिलसिलामा जयवागेश्वरीका पञ्चनारायण महर्जनले सुब्बाका नाममा एक महिनाका लागि दैनिक आकाशदीप बालिरहनुभएको छ । गोरखापत्रबाट