जाजरकोटमा साइत हेराएर कांग्रेस उम्मेदवारद्वारा मनोनयन दर्ता

मंसिर १० गते पहिलो चरणमा हुने संघीय संसद अन्तरगत प्रतिनिधि सभा र प्रदेश सभाका लागि जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवारहरूले साइत हेराएर उम्मेदवारी दर्ता गराएका छन् । ज्योतिषीको सल्लाह अनुसार उनीहरूले आइतबार बिहान १० बजेर ५५ मिनेटको समयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

उक्त समयलाई शुभ साइत मान्दै आफूहरूले उम्मेदवारी दर्ता गराएको काँग्रेस उम्मेदवारहरूले बताएका छन् । काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका लागि राजीव विक्रम शाह र प्रदेश सभा अन्तरगत क्षेत्र नम्बर १ बाट वेदराज सिंह तथा क्षेत्र नम्बर २ बाट दिपकजंग शाहले आफ्नो उम्मेदवारीको मनोनयन पत्र दर्ता गराएका हुन्।

कुनै तामझाम नगरी सय जना कार्यकर्ताको साथमा उनीहरूले आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएका थिए । वाम गठबन्धन अनुसार प्रतिनिधि सभाका उम्मेद्वार शाहले पूर्व गृहमन्त्री एवम् माओवादी सचिवालय सदस्य शक्तिबहादुर बस्नेतसँग प्रतिष्पर्धा गर्ने छन् भने प्रदेश सभामा क्षेत्र नम्बार १ मा सिंहले एमालेका निरज आचार्य र क्षेत्र नम्बर दुईमा शाहले एमालेकै करवीर शाहीसंग प्रतिष्पर्धा गर्ने छन् ।

संविधान निर्माण र गणतन्त्र स्थापनामा नेपाली काँग्रेसले निर्वाह गरेको भूमिकाको विषय र राष्ट्रिय सम्वृद्धिको अभियान पनि नेपाली काँग्रेसकै नेतृत्वमा सुरु गर्ने नारा लिएर आफूहरू जनताका माझ जाने प्रदेश सभाका लागि क्षेत्र नम्बर १का काँग्रेस उम्मेदवार वेदराज सिंहले बताए।

आफ्नो तयारी नपुगेको भन्दै वाम गठबन्धनका उम्मेदवारहरूले ढिलो गरी उम्मेदवारी दर्ता गर्ने जनाएका छन् । वाम गठबन्धनको टिकट वितरणलाई लिएर जाजरकोट माओवादी भित्र तिव्र विरोध र असन्तुष्टी देखिएको छ । यही असन्तुष्टीलाई मिलाउन माओवादीको बैठक बसिरहेको श्रोतले बताएको छ।