चुनाव नजिकियो, आज मनोनयन दर्ता गर्ने दिन

आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता हुँदैछ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने चुनावका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा हुनेछ ।
मनोनयन दर्ता बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म चल्नेछ ।

उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ । प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्काे एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने तथा त्यस्तो प्रस्तावक र समर्थक निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानूनी व्यवस्था रहेको छ ।

पहिलो चरणको चुनावमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्ने छन् । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनावका लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ