लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’मुसहर बस्तीमा

बस्तीका ५० घर धपक्क बलेका छन्। घर-घरमा झिलिमिली र चकमक-चकमक ज्योति देखिन्छ। घरको दैलोमा रंगिविरंगी सजावट। एकै रंगले रंगिएका ५० वटा घर, हेर्दा खुब रमाइलो देखिएको छ मुसहर बस्ती। घर-घरका पेटीमा फूलेका सुन्दर फूलले अझ सुन्दरता बढाएको छ। लक्ष्मीमाताको फोटोसंगै दैलोमा धुर्मुस-सुन्तलीको तस्बिर छ। मुसहरले चार पुस्तापछि उज्योलो ज्योतिसंगै दीपावलीको उत्सव मनाए। सदैको भन्दा यसपालिको दीपावली महोत्तरीको बर्दिबासका मुसहरको जीवनमा बिशेष रह्यो। खुशीको वर्णन गर्न वास्तवमै मुसहरसँग शब्द छैनन्।

रोग, भोक र अशिक्षाले थलिएका गरिब तथा विपन्न मुसहरले यो वर्ष आनन्दका साथ दीपावली मनाएका छन्। धुर्मुस-सुन्तलीले वैशाख १ गते नयाँ बर्षमा उपहार स्वरुप मुसहरलाई पक्की घर उपहार दिएका थिए। अघिल्लो वर्ष माटोको ढिस्कोमा दीपावली मनाएका मुसहर यस बर्षको लक्ष्मीपूजामा १० लाख बढी मूल्य पर्ने घर धनी भएका छन्। सम्पत्तिको नाममा पाँचधुर जग्गा रहेका मुसहरलाई घरको धनी बनाइदिने हाँस्य कलाकार धुर्मुस-सुन्तलीलाई लक्ष्मिमातको फोटोसंगै भगवानको रुपमा पूजा गरेको बस्तीका ५५ बर्षीय मानकी सादा मुसहरले बताइन्।
लक्ष्मी पूजाका लागि बिहीबार साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले बस्तीका महिलाले लिपपोत गरे। चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाए। घर अगाडी रंगौली बनाएर पालामा तेल हालेर दीप जलाए।

अरुका घरमा जस्तै साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजाको भव्य पूजा भयो। घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याडमा सरसफाइ गरी दीपावली गरे। ‘पुस्तौं पीडाबाट छटपटिएका थियौँ। हामीलाई कसैले देखेका थिएनन्। हाम्रो जीवनमा धुर्मुस -सुन्तली भगवान् बनेर आउनुभयो,’ बस्तीका करिमाझी मुसहरले भने,‘चन्दा मागेर हामीलाई ७ करोंडको घर बनाइदिनुभयो। छोरा छोरीलाई स्कुल पठाइदिनुभयो। हाम्रो दुःख बुझ्नुहुने धुर्मुस-सुन्तलीनै हाम्रा देवता हो हजुर ।’

बस्तीकी ३५ बर्षीय सूजी सादा मुसहरले बिगत् सम्झिदै भनिन्,‘बच्चाको सवालको जवाफ हामीसंग थिएन। जीवनमा यसपालि छिमेकीको घरमा पनि झिलिमिली बत्ति बलेको छ। हाम्रो घरमा पनि बलेको छ। बच्चाहरु बत्ति बलेको देखेर खुशी छन्।’ पहिले बस्तीमा लाइन नहुँदा बस्तीका स्थानीयहरु बर्सौंदेखि अध्यारोमा बस्दै आएका थिए।

बस्तीमा प्रवेश शुःल्क लगाइएको छ। त्यसबाट उठेको रुपैंयाँ बस्तीमा समिति बनाएर कोषमा जम्मा गरिन्छ। ‘२० जनाले कोषबाट ऋण लिएर धान खेती गरेका छन्। धान राम्रो फलेको छ,’ एकीकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु सादा मुसहरले भने,‘हामी अब घरको मात्रै होइन, अन्नको पनि धनी भएका छौँ।’ दलित भनेर मुसहरहरुलाई छिमेकीले हेला गर्थे। धुर्मुस-सुन्तलीले उनीहरुले पकाएको खान खाए। उनीहरुले छोएको पानी खाए। अहिले मुसहरलाई छिमेकीले पनि माया गर्छन्।

‘यस बर्षको दीपावलीको उज्यालाले मुसहरको जीवन जगमग भयो। मनै प्रफुल्ल भयो,’ स्तानातक पहिलो बर्षमा अध्ययनरत बस्तीका मञ्जय सादा मुसहरले भने, ‘विद्यालय नजाने सबै बच्चा पढ्न जान्छन्। पढेर ठूलो बन्ने सपना देखेका छन्। सबै बुझ्ने भए। सबै आत्मनिर्भार हुदैंछन्। त्यही भएर हामी मुसहरको लागि धुर्मुस-सुन्तली भगवान राम-सीताको अर्को भगवानको रुपमा हामीले मानेका छौं।’ अन्नपूर्णपोष्ट बाट