दुई मतपत्र बनाउन ज्यादै कठिन र अप्ठेरो छः डा. यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम ज्यादै कठिन र अप्ठेरो रहेको बताएका छन् । निर्वाचन आयोगमा आज पत्रकारसँग कुरा गर्दै उनले भने, “यो विषयलाई गम्भीरतापूर्वक लिएर आयोगले छलफल गरिरहेको छ, राजनीतिक दलहरूकै सल्लाह र सुझावका आधारमा आयोगले मतपत्र तयार गरेको हो । दुई वटा मतपत्र छाप्ने÷नछाप्ने भन्ने विषय समितिले दिने सुझावका आधारमा हुनेछ ।

उनले भने,“समय कम छ, छोटो अवधिमा छाप्न कठिन छ, विषय एक अर्कोसँग जोडिएको छ, त्यसैले मतपत्र छापेर मात्र हुँदैन, दुर्इ वटा मतपत्र छाप्नलाई आवश्यक पर्ने कागज र मेसिनको व्यवस्थापन, छपाइपछि गर्नुपर्ने बाइण्डिङ र ढुवानी तथा मतदान केन्द्रको क्षमता आदिलाई पनि ध्यान आवश्यक छ ।”

सर्वोच्च अदालतले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ बाँकी नै देखिँदा प्रतिनिधिसभा र प्रदेशसभाको अलग अलग ऐन रहेका अवस्थामा दुवै सभा सदस्यको निर्वाचन एउटै मतपत्रमा गर्ने निर्णय भएकामा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग्गै छाप्ने सम्बन्धमा निर्वाचन आयेगले गम्भीरतापूर्वक विचार गर्ने नै छ भनी फैसला सुनाएको थियो ।

यसैबीच आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उम्मेदवारी दर्ताका लागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको बताउँदै डा यादवले भने, “राजनीतिक दलहरूबाट अब मतदातालाई जागरण गर्ने कार्यक्रम सञ्चालन हुन आवश्यक छ ।” नयाँ पत्रिकाबाट