फलफूलमा भारत र चीनकै भर, तिहारलाई ३० करोडका स्याउ र केरा आयात

तिहारलाई लक्षित गरी फलफूल थोक व्यवसायी संघले करिब ३० करोड रुपैयाँको फलफूल आयात गरेको छ। व्यवसायीले स्याउ र केरासहित विभिन्न फलफूल झण्डै ३० करोड रुपैयाँँ बराबरको आयात गरेका हुन्। यसमध्ये केही आयात भइसकेका र केही आउने क्रममा रहेको संघले जनाएको छ। संघका महासचिव विनोद पाण्डेका अनुसार चीन र भारत गरी १ सय ८० ट्रक स्याउ आयात भइरहेको छ।

एक ट्रकमा १० टन स्याउ हुन्छ। तिहारलाई लक्षित गरी १८ सय टन (प्रतिकिलो १ सय २० रुपैयाँँको दरले २१ करोड ६० लाख रुपैयाँँको) स्याउ आयात भएको जनाएको छ। स्याउ मुख्यतः तिहारमा बिक्री हुन्छ। मुलुकभित्र पर्याप्त मात्रामा उत्पान नहुनु, फाट्टफुट्ट उत्पादन भएपनि व्यावसायिक रूपमा बजारको पहुँचसम्म नहुनुने फलफूलमा चीन र भारतकै भर पर्नुपरेको छ।

‘नेपालमा मुस्ताङ, हुम्ला र मुगुमा उत्पादन भए पनि उपत्यकामा नगण्य रूपमा भित्रिन्छ,’ पाण्डेले भने, ‘माग पूर्ति गर्न चीन र भारतकै भर पर्नुपर्छ।’ उनका अनुसार चीनबाट १ सय ५० ट्रक र भारतबाट ३० ट्रक स्याउ आयात भएको छ । असोज २९ गतेदेखि दैनिक २५\३० ट्रक भित्रिएको छ । पाण्डेका अनुसार १८ सय टन लक्ष्मीपूजाको दिनसम्म आयात भई टीकाको दिनसम्म सबै बिक्री हुन्छ। ‘असोज २९ गतेबाट आयात सुरु गरेका छौं ।

केही बाटैमा छ,’ उनले भने, ‘आयतित स्याउ भाइटीकाको दिनसम्मा सकिन्छ।’ आयातित स्याउ बल्खुबाट व्यवसायीले खरिद गरी मुलुकभरि खुद्रा मूल्यमा बिक्री गरिन्छ। संघका अनुसार तिहारसँगै होलसेल बजारमा करिब ६० प्रतिशतले माग बढेको छ। माग बढेसँगै आयात पनि बढाएको उनले बताए । ‘सामान्य दिनमा दैनिक ५\६ ट्रक स्याउ आयात हुन्छ। अहिले दैनिक २५\३० ट्रक भित्राएका छौं,’ उनले भने ।

तिहारलगत्तै छठ पर्व सुरु हुन्छ। त्यसबेला पनि माग वृद्धि हुने संघले जनाएको छ। तिहारमा स्याउसँगै केराको माग पनि उत्तिकै बढ्छ। संघले केरा भारतबाट आयात गर्ने गरेको छ। तिहारका लागि भारतबाट मात्रै १ सय ५० ट्रक (१५ सय टन) केरा आयात भएको पाण्डेले बताए । एक दर्जनको ६० रुपैयाँँको दरले ९ करोड रुपैयाँँको आयात हुने जनाएको छ। कालिमाटी तरकारी बजारका होलसेल व्यापारी भरत खनालले दैनिक ७०० कार्टुन स्याउ बिक्री भएको बताए ।

‘स्याउ मुख्यत: तिहारमै बिक्री हुन्छ,’ उनले भने, ‘सामान्य दिनमा १ सय कार्टुन बिक्री हुने स्याउ अहिले ६\७ सय कार्टुन पुगेको छ।’ संघका अनुसार अघिल्लो वर्षको तुलनामा फलफूलको मूल्य सस्तो भएको छ । गत वर्ष प्रतिकिलो ९० देखि १ सय रुपैयाँँ (होलसेल मूल्य) पर्ने स्याउको मूल्य ८० देखि ९० रुपैयाँँ पर्छ। फुजी स्याउको मूल्य पनि प्रतिकिलो २५ रुपैयाँँ घटेको संघको दाबी छ। मूल्य सस्तिएको दाबी संघले गरे पनि यसको प्रत्यक्ष अनुभव उपभोक्ताले गर्न पाएका छैनन्। अघिल्लो वर्षको तुलनामा झन् महँगो भएको प्रतिक्रिया फलफूल पसलमा भेटिएका उपभोक्ताको छ।