प्रज्ञामा सिस्नुपानीको देउसी–भैलोमा देउवा र ट्रम्पबीच दोहोरी

हरेक वर्षको तिहारमा राजनीति र भ्रष्टाचारविरुद्ध व्यंग्य गर्दै ‘देउसी–भैलो खेल्दै आएको सिस्नुपानी नेपालले यस वर्ष पनि त्यसक्रमलाई निरन्तरता दिएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो ।

पूर्वप्रधानमन्त्रीहरू केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द उपस्थित कार्यक्रममा कलाकार सीताराम कट्टेल (धुर्मस), मनोज गजुरेल, शैलेन्द्र सिंखडा, शिशिर योगीलगायतले व्यङ्ग्यात्मक प्रस्तुति प्रस्तुत गरेका थिए । त्यसअलावा विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुखलगायत सहभागी थिए ।

देउसीको पूर्णपाठ यस्तो थियो

भन भन भाइ हो – देउसी रे
भन भन बैनी हो – देउसी रे
कुनै वेला हाम्रो – देशैमा
भ्रष्टाचारको – केसैमा
अख्तियार भन्ने – राज्य थ्यो
लोकमान भन्ने – राजा थे
नकुरा गरौं – कस्ता थे
जंगबहादुर जस्ता थे
शिकार खेल्थे – हेरेर
लुतेलाई लडाउँथे – बेरेर
अहिले त अख्तियार – खै कुन्नी
बन्दुकै पड्के नि – नसुन्नी

प्रमुखकै नाम थाहा – पा छैन
बस्नेत कि उठ्ने – थाहा छैन
नाता र गोताले – सताए
साला र ज्वाइँले – बिताए

भ्रष्टाचार फक्रियो – फक्रिनु
सम्धीलाई कसरी – पक्रिनु
अन्योलमा हो कि – परेका
दायित्वबाट – झरेका

हामी त्यसै आएनौं गोपाल सरले खटाए
तेल भण्डारण गर्ने जमिन खोज्न पठाए ।

दुई लाख पर्ने जमिनलाई २० लाख खन खन गन्या छन्

गोपाल सरलाई गोपाल सरले स्याबास भन्या छन् ।

अर्का गोपाल शिक्षामन्त्री डिस्को नाच नाच्दैछन्
उठ्लास भन्दै शिक्षाकै ढाड भाँच्दैछन् ।

कर आयोग नै मारेर शर्मा महत कमाउँछन्
कसले छुने ठाउँठाउँमा थैली चढाउँछन् ।

समाजवादी बाटोमा देउवा ईंटा थप्दैछन्
खुमबहादुर टिकट बाँड्छन् गगन थाप्दैछन् ।

देउवाजीले ब्याटिङमा शतक हान्लान् जस्तो छ
मन्त्रिमण्डल बोइलरको बथान जस्तो छ ।

केही मन्त्री आउनुभो, केही मन्त्री जानुभो
सबै मन्त्री अटाउन हलै सानु भयो ।

बीबीसीमा देउवाजीले झण्डै जनता पिट्नुभो
पत्रकारले प्रश्न सोध्दा दाह्रा किट्नुभो ।

राहत बाँड्न जानुभो हेलिकोप्टर चढ्नुभो
भाषण पढ्न खोज्दा लभ लेटर पढ्नुभो ।

मै हुँ भन्थ्यो दिल्ली पनि अहिले हेर्या हेर्यै भो
देउवाजीको कालो बोको छेर्या छेर्यै भो ।

सिस्नुपानी नेपालैका हामी कवि कलाकार नि लै लै
प्रज्ञाको दैलो, खेल्दै देउसी भैला,
नाच्दै आयौं छमछम ।

काठमाण्डूका खाल्डे सडक सबै सम्म पारेछन् नि लै लै
मेट्रो पनि चलेछ, मोनो नि गुडेछ
चढी आयौं ठमठम ।

भ्रष्टले नि चुनाव लड्ने झण्डै बन्यो नि।।यम्
विफल भयो छक्क परे दाजु राधेश्याम ।

सांसद हुन्जेल विकास बजेट छाडेपछि पेन्सन
दुईटै गुम्यो हेर्दा हेर्दै भयो टेन्सन ।

प्रधानमन्त्री कुल्चिहाल्छन् माड्छन् आचारसंहिता
आयोग रुन्छ हामी त हेर्छौं रमिता ।

संवैधानिक आयोग हो कि रुञ्चे लाग्या बालक
अलिकति लाज मान देशको चालक ।

अनुदानको रासन हुम्ला जुम्ला पुग्दा कुहिन्छ
आधा पुग्छ मुखमा आधा अन्तै चुहिन्छ ।

बाटो छैन बत्ती छैन कर्णालीका पाखामा
फुलो रैछ राजधानीको हेर्ने आँखामा ।

पुननिर्माण सीईओ टिकट लेर कुलेलाम
वर्षौंदेखि छाप्रोमै पीडित जिल्लाराम ।

हाम्रो देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको
कदर गर्न राज्यले खोइ त जानेको ?

श्रमिक सधैं सकसमा कति आउँछन् बाकसमा
रोजगार जुटाउँ आफ्नै धर्ती आफ्नै आकाशमा ।

चुनाव आउँदा मधेसी, बाढी आउँदा परदेशी
काठमाडौंमै भुनभुन गर्छन् मन्त्री पाएसी ।

बिहान फोरम, दिउँसो कांग्रेस, साँझ हुन्छ एमाले
मधेस कैले बन्छ ठाकुर यस्तो पाराले ।

मधेसको मुहार फेर्न देखाउ केही गरेर
हुन्न भलाइ दिल्लीको शरण परेर ।

भनभन साथी – मधेसमा
जंगली हात्ती – मधेसमा
डुबान र बाढी – मधेसमा
फोहोरका खाडी – मधेसमा
छुवाछुतले हान्छ – मधेसमा
डेंगुले लान्छ – मधेसमा
शीतलहर चल्छ – मधेसमा
तातोले पोल्छ – मधेसमा
भ्रष्ट र तस्कर – मधेसमा
सर्प र मच्छड – मधेसमा
बन्दुक र भाला – मधेसमा
विकासमा ताला – मधेसमा
दाइजोको दलदल – मधेसमा
बोक्सीको खलबल – मधेसमा
दशगजा सर्छ – मधेसमा
गोविन्द मर्छ – मधेसमा
देवनारायण थुनिन्छ – मधेसमा
भोकमरी सुनिन्छ – मधेसमा
खानकै दरकार – मधेसमा
खोई कहाँ छ सरकार – मधेसमा

प्रस्तुतिको अन्तिमतिर स्टेजमा देखापरेका प्रधामन्त्री देउवा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘क्यारिकेचर’ निकै चाखलाग्दो थियो । देउवाको भूमिकामा देखापरेका धुर्मुस र ट्रम्प बनेका मनोज गजुरेलले यसरी देउसी–भैलोमार्फत् एकअर्कालाई प्रहार गरे ।

नक्कली देउवाले भैलो खेल्न सुरु गर्दै भने –

‘कार्यकर्ता आउलान् आँगन, सांसदको टिकट मागन
हे औंशी ब्यारो, बाम एकता भयो साह्रै गाह्रो’
यत्तिकैमा मञ्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रवेश हुन्छ । गत गाईजात्रामा प्रस्तुत गरेको क्यारेक्टर दोहोर्यारउँदै मनोज गजुरेल ट्रम्पको भेषमा प्रस्तुत हुन्छन् ।

‘नो नो नो हि इज फेक

आइ हेट फेक पिपल’ भन्दै उनी हलभित्र छिर्दा हाँसो गुञ्जिन्छ ।
उनले मिस्टर फेक भन्दै देउवालाई सम्वोधन गरेपछि देउवा नराम्ररी जंगिन्छन् । उनी निकै समय भुत्भुताउँछन् । बीबीसीको कार्यक्रममा बोलेको शैलीमा भन्छन्, ‘तपाईं बढ्दा बोल्दै हुनुहुन्छ ।’
त्यसपछि ट्रम्पले ६४ जना मन्त्री बनाएकोमा देउवाको धज्जी उडाउँछन् । उनले भन्छन्, ‘यो ६४ जनालाई मन्त्री बनाएर पैसा खुवाउनेभन्दा तिनीहरुलाई जम्मा पारेर तराईको सीमानामा वाल लाउन पठाउनुस ।’

त्यसपछि देउवा र ट्रम्पबीच दोहोरी देउसी सुरु हुन्छ –
‘डोनाल्ड ट्रम्प आए आँगन नेपाली युवा मागन
डीभी चिठ्ठा साह्रो, नेपाल रित्तो पारो’ देउवा गाउँछन् ।
त्यसमा ट्रम्प जवाफ दिन्छन् –
माया मार्ने गामबेसी, किन धाउने एम्बेसी ?
हे औंसी ब्यारो गाई तेरो गोरु मेरो थैलो
देउवा भन्छन् –
‘हे साम्राज्यवाद ढल्दैछ, सोसलिज्म आउँदैछ
हे औंसी ब्यारो बामएकता भयो तिमीलाई गाह्रो’
ट्रम्प जवाफ दिन्छन् –
‘कोही सोसलिज्म भन्छ कोही कम्युनिज्म भन्छ
तर नेपाल वान्ली वान टुरिज्मले मात्र बन्छ’
ट्रम्पले नेपालका प्रधानमन्त्री छिमेकी देशमा गएर संविधान संशोधन गर्न नसकेको भनेर घुँडा टेकेकोमा कटाक्ष गर्छन् । ‘नेपालको प्रधानमन्त्रीले आफ्नो जनतासँग बसेर कुरा मिलाउने कि छिमेकीकहाँ गएर आइ एम सरी भन्ने रु’ ट्रम्प भन्छन् ।

देउवाले उत्तर कोरियाले क्षेप्यास्त्र हानिदेला भनेर तर्साउँछन् ।

देउवा गएनन्, ओली र प्रचण्डले जनाए प्रतिबद्धता

कार्यक्रममा वास्तविक प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नभए पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने उपस्थित थिए । कार्यक्रमको अन्त्यमा दुवै नेताले मुलुकको समृद्धि र भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जनाए ।

प्रचण्डले मनोरञ्जनात्मक कार्यक्रममा भाषण गर्नु उपयुक्त नभएको भन्दै तिहारको शुभकामना दिएर फर्किए । ओलीले भने व्यंग्य वाण प्रहार गरे । उनले भने, ‘सबै पार्टीलाई ब्यालेन्स गर्नुपर्ने बाध्यताले मात्रै एमालेलाई पनि व्यंग्य गर्नुभएको होला, अन्यथा एमालेलाई व्यंग्य गर्ने ठाउँ नै छैन ।’ नयाँपत्रिकाबाट