एउटै घरबाट २ दिनमा ४ मोटरसाईकल चोरी

घरभित्रैबाट ७ लाखको बाईक चोरियो

मोटरसाईकल चोरीका घटनाहरु केही कम हुन थालेका बेला पोखरामा मोटरसाईकल चोरको बिगबिगी बढेको छ ।
गएको शुक्रबार र शनिबारमात्रै पोखराको एकै स्थानबाट ४ वटा मोटरसाईकल हराएपछि यस्तो खुलासा भएको हो ।
चोरहरुले पोखराको भण्डारढिकबाट गत शुक्रबार र शनिबार रातीमात्रै स्थानीय सुरज गुरुङको घरबाट ४ वटा मोटरसाईकल चोरी भएका छन । केहीदिन अघि एउटा मोटरसाईकल चोरी भएलगत्तै शुक्रबार राती १२ प २९०७ र ग १२ प ५११२ नं का दुइटा बाइक एकैपटक हराएकै भोलीपल्ट सोहीघरबाट अर्को एउटा मोटरसाईकल समेत चोरी भएपछि घटना रहस्यमय बनेको छ ।

त्यसअघि नै आफ्नै घरबाट अन्य मोटरसाईकल हराएपछि चिन्तित गुरुङको केहीदिनअघिमात्रै किनेको ७ लाख रुपैंया पर्ने बेनली बाईक समेत चोरिएपछि अहिले गुरुङ प्रहरीले चोर पत्ता लगाउने आशामा प्रहरीका कार्यलयमा घाईरहेका छन । हेन्डल लकसहित भित्र पार्किङ गरेका बाइक घरको मुलगेटको तालानै फोडेर चोरिएपछि प्रहरीले समेत यसलाई रहस्यमय घटनाका रुपमा लिएको छ ।बाईक चोरीको घटना यसमामात्रै सिमित छैन भण्डारढिककैसञ्जीव न्यौपानेको ग१३प ३९८१ नम्बरको पल्सर बाइक समेत केहीदिनअघि घरभित्रैबाट चोरी भएको थियो ।चोरले मंहगा बाईक चोरेर तत्काल पार्टपुर्जा झिक्ने वा सिमानाका कटाउने गरेका कारण हराएको बाईक खोज्न निक्कै चुनौती रहेको प्रहरीको भनाई छ ।

हराएको बाइकहरु पाइन्छ भनेर ग्यारेन्टी गर्न नसकिएपनि चोरीका घटना बढेर गएकाले खोजीकार्य तीब्र पारिएको प्रहरी बताउँछ ।तर चोरहरुले नयाँ नयाँ ठाँउमा नयाँ नयाँ शैलिका चोरीका घटना घटाउने गरेकाले प्रहरीलाई समेत चोरीका मोटरसाईकल समाउन निक्कै चुनौती छ । यसर्थ स्वंयम सवारीधनीले नै बढि सावधानी अपनाउनुपर्ने देखिन्छ ।