२२ किलोमिटरको भाँडा पाँच सय रुपैयाँ !
तपाईं अनुमान पनि लगाउन सक्नुहुन्न डोटीमा २२ किलोमिटर दुरी यात्रा गर्दा पाँच सय रुपैयाँ भाँडा तिर्नुपर्छ । सवारी साधनले लिनु पर्नेभन्दा निकै धेरै भाडा असुल्ने गरे पनि प्रहरी–प्रशासन र स्थानीय सरकार मौन बसेको छ । यसको मारमा सर्वसाधारण यात्रुहरू परेका छन् । उनीहरू महँगो भाँडा तिरेर पनि जोखिमपूर्ण यात्रा गर्न विवश छन् ।
दिपायल–मौवा–डौड, दिपायल–चवारा–चौतारा, सहजपुर–बिपीनगर बोगटान, बुडर–जोरायल, तल्कोट–धुर्कोट सडकमा चल्ने सवारी साधनमा अचाक्ली भाडा उठाइने गरेको हो । यी नै जिल्लाका प्रमुख ग्रामीण सडक हुन् । ग्रामीण सडक स्तरोन्नतिका लागि स्थानीय सरकारहरूले वास्ता गरेका छैनन् भने सडकको दुरवस्थाले सवारी साधनले मनपरी भाडा उठाएका आएका छन् ।
ती सडकमा जतिबेला पनि दुर्घटनाको संभावना छ । सडक निर्माण गर्दा भएको हेलचेक्र्याइँले यात्रुहरूको जीवन सधै खतरामा छ । गाउँगाउँमा सडकको पहुँच पु¥याउने होडबाजीले प्राविधिक मापदण्ड पूरा नभएका सडक बनेका छन् ।
ग्रामीण तथा कृषि सडकका नामले सडक विस्तार गर्ने काम नरोकिएको छैन । । मापदण्ड पूरा गर्दै स्तरीय सडक निर्माण गर्नुको सट्टा गाउँमा बाटो पु-याउने प्रतिस्पर्धा हुँदा जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको सायल गाउँपालिका–५ का तेज डुम्रेले बताए ।
प्रमुख व्यापारिक केन्द्र दिपायलबाट आदर्श गाउँपालिकाको मौवासम्मको सडकमा सबैभन्दा बढी सवारी चल्ने गर्छन् । त्यस सडकमा गुड्ने बलेरो जिपलाई सडकको खराब अवस्थाले यात्रुले सधैं ठेल्नुपर्छ । २०७१ साल यता कच्ची सडकमा भएका सवारी दुर्घटनामा परेर ५१ जनाले ज्यान गुमाइसकेका छन् । २०७१ साल असोजमा बुडर–जोरायल सडकमा बस दुर्घटना हुँदा २९ जनाको एकै चिहान भएको थियो ।
बोगटान गाउँपालिका–१ का नरेश मगर कि त सडक काट्नै नहुने, काट्ने नै हो भने अलि स्तरीय बनाउनु पर्ने बताउँछन् । आदर्श गाउँपालिका–४ का करबिर बिष्ट सडक भएपछि हिंड्न पनि अल्छी लाग्ने तर सवारी साधनमा जाँदा जोखिम अति रहेको बताउँछन् । कारोबारमा खबर छ।