नेताहरु टिकटका लागि राजधानी पुगेकाे बेला ,पशुपतिको आक्रामक चुनावी अभियान

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अधिकाँश नेताहरु आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको टिकटका लागि राजधानी पुगेका बेला सोही गठबन्धनका नेता पशुपतिदयाल मिश्राले भने चुनावी अभियान सुरु गरेका छन । स्वतन्त्र राजनीतिक समुहका नेता मिश्रा नेकपा एमालेसँग भएको सहमती अनुसार बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने निश्चित भएको छ ।

अन्य पार्टीका आकांक्षीहरु टिकटको रस्साकस्सीमा रहँदा मिश्राको नाम नेकपा एमाले बाँकेका तर्फ क्षेत्र नम्बर २ मा सर्वसम्मत सिफारिस भएको हो । घरदैलो र भेटघाट कार्यक्रम सुरु गरेका छौं, आफनो निर्वाचन क्षेत्र अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँकेगाउँमा भेटघाटमा रहेका मिश्राले बिहिवार भने,– सबै कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी र स्वतन्त्र राजनीतिक समुहका नेता कार्यकर्ताहरु साथमा हुने गरेका छन ।

बाँकेको राजनीतिमा लामो समयदेखि सक्रिय जिल्ला विकास समिति बाँकेको सभापति भईसकेका कारण मिश्रा आफनो निर्वाचन क्षेत्रका मतदाता र समस्यामाझ परिचित रहेका कारण सजिलो भएको नेकपा एमालेका नेता राजेन्द्र बर्माले बताए । विकासपेमी नेताको रुपमा सबैले पशुपतिदयाल मिश्रालाई सम्झना गरेको अवस्था छ , बर्माले भने,–मिश्राको लोकप्रियता पनि उहाँको जितको एक आधार बनेको छ ।

बाँकेको क्षेत्र नम्बर २ साविक क्षेत्र नम्बर ३ नेकपा एमालेले हालसम्म खाता खोल्न नसकेको क्षेत्र हो । यसपटक पशुपति दयाल मिश्रा एमालेको उम्मेदवार भएपछि निर्वाचन जितिनेमा ढुक्क भएको एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङले बताए । गुरुङ आफै पनि मिश्राको चुनावी अभियानमा सक्रियतापुर्वक सहभागी हुने गरेका छन । केन्द्रमा स्वतन्त्र राजनीतिक समुह र नेकपा एमालेबीच भएको सहमती अनुसार हृदयेश त्रिपाठी नेतृत्वको राजपाका पुर्ब सहमहामन्त्री मिश्राको चुनाव चिन्ह एमालेको चुनाव चिन्ह सुर्य हो ।