एक बर्षपछि खुल्यो नेपालगन्जमा लाइसेन्स वितरण प्रक्रिया

करिब एक बर्षपछि नेपालगन्ज  यातायात ब्यवस्था कार्यालयमा लाइसेन्स बितरण प्रक्रिया सुरू भएकाे छ ।  अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि रोकिएको अनुमतिपत्र वितरण प्रक्रिया पुनः सुचारु हुने भएको हाे । ‘दर्ता प्रक्रियामा आउन थालेका ईरिक्साको लागि सवारी चालक अनुमति पत्र वितरण गर्ने प्रक्रिया सोमवारबाट अघि बढाउने तयारी छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख होम बहादुर थापाले भने, ‘अन्य सवारी साधनको पनि विस्तारै अघि बढाउने तयारी छ ।

यातायात व्यवस्था कार्यालय भेरीका १६ कर्मचारीविरुद्ध ड्राईभिङ लाइसेन्स परीक्षामा अनियमितता गरेको भन्दै मुद्दा दायरपछि रोकिएको लाइसेन्स पुनः अघि बढाउने तयारी भएको हो । गत वर्ष कार्तिक ५, ६, ७ र ८ गते भएको चारपाङ्ग्रे सवारी लाईसेन्सको लिखित परिक्षाको नजिता प्रकाशनमा अनियमितता भएको ठहर गर्दै अख्यिारले मुद्दा दायर गरेको थियो ।सो परीक्षामा कुल १२ हजार ६ सय ३१ जना परीक्षार्थी सहभागी भएका र लिखित परीक्षामा ९ हजार ४ सय ९ जना उत्तिर्ण गराई नतिजा प्रकाशन भएको थियो ।

परीक्षामा जम्मा ४६५ जना परीक्षार्थीहरू प्रयोगात्मक परीक्षामा उत्तिर्ण भएका थिए तर परिक्षा समितिको चैत ७, १२ र १३ गतेको बैठकले ती फेल भएका परीक्षार्थीहरूको नाममा सवारी चालक अनुमतिपत्र जारी गर्ने निर्णय गरेको थियो ।उक्त अनियमिततामा सहभागी भएका १६ कर्मचारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम कसूर गरेको पुष्टि भएको बताउँदै अख्तियारले मुद्दा दायर गरेको थियो ।

अदालतले सवारी चालक अनुमतिपत्रमा करौडौको रकम भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालिन यातायात ब्यवस्था कार्यालय भेरीका १४ जना कर्मचारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत तत्कालिन प्रहरी निरिक्षक सहित २ जना प्रहरी निलम्बनमा परेका थिए ।

यातायात ब्यवस्था कार्यालय भेरीका तत्कालिन प्रमुख तथा उपसचिब पवन सुबेदी शाखा अधिकृतहरु सिताराम खनाल, बिष्णु सहनी, देबराज पोख्रेल, मेकानिकल ईन्जिनियर अर्जुन कुमार चौधरी, धु्रब प्रसाद सापकोटा, नायव सुब्बा ललित बहादुर ओली, केशब डाँगी, होताराज पौडेल, षडानन्द उपाध्य, अरुण कुमार गौतम, डिल्लीराज खरेल, ओम बहादुर बस्नेत र गणेशमान आचार्यको पदबाट बर्खास्त भएका हुन् ।

सो काण्डमा मिलोमतो गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रहरी निरीक्षक बिमल कुमार उपाध्यय र प्रहरी नायब निरीक्षक दिपेन्द्र बहादुर सिंह पनि बर्खास्त भएका हुन् । सो समय देखि सवारी चालक अनुमति पत्रको काम रोक्का रहेको थियो ।