विदेशबाट आउने फोनको निगरानी हुने

नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय टेलिफोन कलको अनुगमन गरी त्यसको यकिन तथ्याङ्क राख्ने भएको छ । पछिल्लो समय विदेशबाट नेपाल भित्रिने टेलिफोन कलबापतको आम्दानी तुलनात्मक रूपमा कम हुँदै गएपछि प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय कलको ‘ट्राफिक’ अनुगमन गर्ने तयारी गरेको हो । यो खबर विश्वास रेग्मीले आजको गोरखापत्र दैनिकमा लेखेका छन्।

यसका लागि प्राधिकरणले सेवा प्रदायकसँग सहकार्य गरी केन्द्रीय प्रणाली स्थापना गर्ने प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए। ‘कल ट्राफिक अनुगमनका लागि आवश्यक हार्डवेयर र सफ्टवेयर प्रणाली जडान गर्न विदेशी परामर्शदातासँग आवेदन माग गरेका छौँ’ उनले भने।

सञ्चालनमा रहेका छओटा दूरसञ्चार सेवा प्रदायकले अन्तर्राष्ट्रिय कलबापत प्राप्त गर्ने कुल आम्दानी गतवर्ष घटेको प्राधिकरणको तथ्याङ्क छ । यससम्बन्धमा व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिको यही असोज ९ गते बसेको बैठकले चासो जनाउँदै अन्तर्राष्ट्रिय कलको अनुगमन गर्न निर्देशन पनि दिएको थियो ।

सफ्टवेयर जडानपछि अन्तर्राष्ट्रिय तथा स्थानीय कलको वास्तविक तथ्याङ्कसहित आम्दानी घट्नुको कारण पत्ता लाग्ने अर्यालले जानकारी दिए। ‘यदि कुनै सेवा प्रदायकले वास्तविक भन्दा कम मात्र कल देखाएर आम्दानी गरिरहेको छ भने त्यो पनि सफ्टवेयरले देखाउँछ’ उनले भने। अन्तर्राष्ट्रिय कलबापतको वास्तविक आम्दानी न्युन देखाएर राज्यलाई कम कर तिर्ने प्रवृत्ति यस्तो प्रणाली सञ्चालनमा आएपछि निरुत्साहित हुने उनको बुझाइ छ ।

प्राधिकरणले पहिलोचरणमा अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्ने र दोस्रो चरणमा मात्रै आवश्यक हार्डवेयर र सफ्टवेयर जडान गर्ने योजना बनाएको छ । कलको तथ्याङ्क सङ्कलनका लागि सबै सेवाप्रदायकको प्रणालीमा हार्डवेयर तथा सफ्टवेयर जडान गर्ने र त्यसलाई केन्द्रीय प्रणालीमा राख्ने प्राधिकरणले जनाएको छ ।

यससँगै प्राधिकरणले सोही प्रणालीमार्फत नेपाल भित्रने अवैध कलको पनि तथ्याङ्क राख्ने भएको छ । कल बाइपासका रूपमा चिनिने यस्ता अवैध कलपत्ता लगाउने गरी केन्द्रीय प्रणाली तयार गरिने अर्यालले जानकारी दिए।

यसले अवैधरूपमा सञ्चालन भइरहेका सेवा प्रदायकको जानकारी पनि लिन सकिने उहाँले बताउनुभयो । नेपालमा सञ्चालनमा रहेका दूरसञ्चार सेवा प्रदायकको नेटवर्क प्रयोगरी विदेशबाट सस्तोमा कल भित्र्याएर अर्बौं रकम विगतमा राज्यलाई घाटा लागेको थियो ।

अझै पनि कल बाइपास गरी अन्तर्राष्ट्रिय कल नेपाल भित्र्याएका घटना नेपाल प्रहरीले समय समयमा सार्वजनिक गरिरहेको हुन्छ । प्राधिकरणले त्यस्ता अवैध कल पत्ता लगाउन पनि आफ्नो केन्द्रीय प्रणाली प्रयोग गर्नेछ । यसै प्रणालीमार्फत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कलको गुणस्तर निर्धारणको पनि काम हुने प्राधिकरणले
जनाएको छ ।