युवती अपहरण लगायत विभिन्न घटनाका अभियुक्तहरु पक्राउ

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ की २१ वर्षीय युवती रेखा भुषाललाई अपहरण गर्ने ६ जना युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–१ का २२ वर्षिय प्रकाश भुषाल, वडा नं. २ का २१ वर्षिय राजिब सुनारी मगर, वडा नं. ४ मुर्गियाका २१ वर्षिय अनमोल जंग राणा, वडा नं. १६ का ३९ वर्षिय लालु पुन, वडा नं. १६ कै ३८ वर्षिय डम्बर बहादुर राना र अर्घाखाँचीको भुमिकास्थान गाउँपालिका वडा नं. ९ का २८ वर्षिय दिपक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।

यसरी भयो घटना

गत असोज २ गते बिहान १०ः३० बजे युवती भुषाल सदा जस्तै आफुले काम गर्ने स्थान बुटवल अस्पताल लाइनको वर्षा मेडिकलमा जानका निमित्त घर देखि हिड्दै गर्दा सैनामैना नगरपालिका वडा नं. १ बर्माचोकबाट आइ पश्चिमबाट पूर्व तर्फ बुटवल तर्फ गाडी कुरिरहेको अवस्थामा पहिले देखि नै युवतीलाई युवाहरुले निगरानी गरिरहेका थिए । उनीहरुले परिवर्तित नं. प्लेट बा १६ च ६६९७ (वास्तविक नं. प्लेट लु.१. च ३४३६) नम्बरको सवारी साधनमा आइ भुषाललाई अपहरण गरी उक्त गाडीमा बन्धक बनाइ अपहरण गरेर लगेका थिए । अपहरण गरेको थाहा पाउना साथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस पश्चात विभिन्न नाकामा प्रहरी परिचालन गरिएको थियो । त्यस्तै तिलोत्तमा नगरपालिका अन्तर्गत भलवारीमा खटिएको प्रहरीले उक्त गाडीको पिछा गर्दै जाने क्रममा भलवारीबाट पूर्व तर्फ लागेका व्यक्तिहरुले युवती भुषाललाई तिलोत्तमा नगरपालिका–७ सेमरामा अपहरण मुक्त गर्न बाध्य भएको र अभियुक्तहरु भाग्न सफल भएका थिए ।

घटना पश्चात अपहरणकारीहरुले पीडित युवती भुषालको बुवासंग २ करोड फिरौती रकम समेत माग गर्दै आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले अपहरण कार्यमा संलग्न अभियुक्त तथा अपहरणमा प्रयोग गरिएको लु १ ज ३४३६ नम्बरको मारुती कार, खुकुरी, मोबाइल, टेप, तन्ना, साइकल र चक्कु बरामद गरेको छ । पहिचान नखुलेको व्यक्तिहरुले अपहरण पश्चात बन्धक बनाइ राख्नका निमित्त देवदह घोडाहामा एउटा खाली घर पहिले देखि नै भाडामा लिइ अवस्थामा राखेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका अभियुक्तहरु माथि शरीर बन्धक र संगठित अपराध अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान पश्चात फिरौती माग्ने अभियुक्त पनि पक्राउ

त्यस्तै कर्तव्य ज्यान पश्चात फिरौती माग गर्ने अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न सप्तरी जिल्ला भगवानपुर ७ का २० वर्षिय अनमोल खवेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

यस्ताे थियाे घटना
गत असोज १४ गते सि.न.पा १ बेलहिया स्थित डण्डा खोला नजिक खोलाको किनारामा बेवारिसे अवस्थामा लास रहेको जानकारी प्राप्त हुना साथ प्रहरी अधिकृत सहितको टोली घटनास्थलमा पुगि मृतक लासलाई खोलाको पानीबाट निकाली मृतक लाशलाई खोलाको पानीबाट निकाली हेर्दा मृतक लाशको टाउको पूर्ण रुपमा सडी गलिसकेको, घाँटीमा नाइलनको डोरीले कसेको अवस्थामा जस्तो रहेकोले मृतकको पहिचान नभएका कारण शवलाई भिम अस्पताल भैरहवाको शव गृहमा राखि पहिचानको लागि प्रहरीले रुपन्देही जिल्लाको मातहत प्रहरी इकाइ तथा अन्य जिल्लाहरुमा समेत हुलिया परिपत्र गरेको थियो ।

असोज १७ गते सप्तरी जिल्लाको झलही गाउँपालिका घर भइ हाल रुपन्देहीको सिद्धार्थनगर नगरपाकिलका वडा नं. १३ शान्तिनगरका शत्रुधन यादवले गहुँगोरो वर्ण, प्राय सर्ट पाइन्ट लगाउने, अन्दाजी २६ वर्षिय आफ्ना ज्वाइ महेश यादव असोज ४ गते देखि सम्पर्कबिहीन भएको तथा सम्पर्कबिहीन ज्वाइ यादवको मोबाइलमा सम्पर्क गर्दा अपरिचित व्यक्तिले फोन उठाइ पटक पटक नगद रु. ५ लाख मागेकोले खोजतलास गरी पाउँ भन्ने निवेदन दिएका थिए । मृतकको लाश जाँच तथा पोष्टमार्टमको क्रममा मृतकको शरीरमा रहेको निलो जिन्स पाइन्ट, कालो वेल्ट, हरियो निलो बुटा भएको सर्ट, घाँटीमा रहेको जन्तर समेत निकाली राखिएकोमा उक्त चिजवस्तु देखाउँदा सो सर्ट पाइन्ट तथा जन्तर समेत मेरो पति महेश यादवले लगाएका हुन भनी असोज १७ गते मृतककी श्रीमती रेनु यादवले सनाखत गरेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धान गर्ने क्रममा उक्त अपराधमा संलग्न सप्तरी जिल्लाको भगवानपुर ७ का २० वर्षिय अनमोल खवेतलाई मृतकको मोबाइलको सिम सहित असोज १७ गते बेलुका ६ः३० बजे रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरबाट पक्राउ गरी सोधपुछ गर्दा असोज ४ गते मृतक महेश यादवसंगै मादक पदार्थ सेवन गरी मृतककै अटोरिक्सामा बेलहियाबाट भैरहवा फर्किने क्रममा अन्दाजी ११ बजे बेलहियाको डण्डापुल नजिक रक्सी खाएको विषयमा विवाद गरी मृतकको टाउकोमा ईट्टाले हानी बेहोस बनाइ घाँटीमा प्लाष्टिकको डोरीले बाँधेर मारी लास डण्डा खोलामा फालेको कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ । अभियुक्त खतेवले कसैलाई उनी प्रति शंका नहोस तथा मृतक अझैं जिउँदो छ भन्ने भार पारोस भन्दै असोज ६ गते देखि पटक पटक मृतकको श्रीमतीलाई मृतक महेश यादवकै मोबाइलबाट फोन गरी रु. ५ लाख हुँदै ५० हजार सम्म फिरौती रकम माग गरी रुपन्देहीको डण्डाखोला, फरेना बजार लगायतका स्थानमा पैसा लिएर आउ, तिम्रो मान्छे छुट्छ भनी बोलाएको हुँ भनी अभियोग स्वीकारेको तथा अन्य अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मानवबेचबिखन तथा ओसारपसारमा संलग्न अभियुक्त पक्राउ

मानवबेचबिखन तथा ओसारपसारअपराधमा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका १३ मझुवाका ३८ वर्षिय होम बहादुर दमै (नेपाली) रहेको प्रहरीले जनाएको छ ।

यस्तो छ घटना
गत २०७३ साल पौष १० गते रुपन्देहीको देवदह नगरपालिका वडा नं. १ चरङ्गेबाट बुटवल उपमहानगरपालिका १३ मझुवाकी ३८ वर्षिय होम बहादुर दमै (नेपाली) ले देवदहकी ३९ वर्षिय सुनिता मगर (परिवर्तित नाम) संग समन्वय गरी विभिन्न किसिमको प्रलोभनमा पारी झुक्याइ भैरहवाको बेलहिया हुँदै दिल्लीमा सफिक खानसंग भेट गराएका थिए । होम बहादुर दमै नेपाली र सफिक खानले सुनिता मगरलाई भारतबाट दुवई र ओमानमा बेचबिखन गरी ती महिलाको इच्छा विपरित काम गर्न लगाएको र नमाने खान लगाउन नदिइ कुटपिट गरी घरमा फोन, तथा तलब नदिइ राखेका थिए । बेचिएकी महिला जसरी तसरी भागेर ओमनको नेपाली दुतावास पुगि पक्रिया पुगाइ नेपाल फिर्ता हुन सफल भइन । प्रहरीले मानवेचबिखनमा संलग्न अभियुक्त नेपालीलाई गत असोज ५ गते उनकै घरबाट पक्राउ गरेको थियो । तर उनलाई उच्च अदालत तुल्सीपुर बुटवल इजलाशमा उपस्थित गराउँदा दिउँसो ३ः३० बजे पिसाब फेर्न भनी अदालतकै शौचालयमा लगिएकोमा उनी सोही स्थानबाट हतकडी सहित फरार भएका थिए । अभियुक्तलाई खोजतलास गर्ने क्रममा सोही दिन साझँ ६ः३० बजे बुटवल उपमहानगरपालिका वडा नं. ७ स्थित हिलपार्क माथिको जंगलबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

नक्कली सुन विक्री गर्न खोज्ने पक्राउ

त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ९ मा अवैध रुपमा सुनको कारोबार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरीले असोज ९ गते अन्दाजी ११ः४५ बजे बुटवल उपमहानगरपालिका वडा नं. ९ बसपार्क एरियाबाट सुन जस्तो देखिने पहेलो पदार्थमा Valcambi Suisse 1 Kg gold 999.9AA94034 लेखिएको २ थान सहित चितवन जिल्ला राप्ति नगरपालिका १ का २४ वर्षिय राजकुमार रुम्बा तामाङ, सोही स्थानका ३८ वर्षिय खड्क बहादुर प्रजा र रुपन्देहीको बुटवल उपहामगरपालिका वडा नं. १३ का ३३ वर्षिय ३३ वर्षिय रमेश राइलाई पक्राउ गरेको थियो । पक्राउ गर्दा कार्यालयमा ल्याई उक्त सुन जस्तो देखिने पहेलो पदार्थलाई जलप लगाएको र उक्त पदार्थलाई सुन भनी ३५ लाख देखि ४० लाख रुपैंयासम्म विक्री गर्ने योजना बनाइ ग्राहकको खोजीमा रहेको तथा उक्त धातु तौल गर्दा १२०५ ग्राम रहेको परीक्षण रिर्पोट प्राप्त भएको प्रहरीले जनाएको छ ।

आफ्नै आमालाई कर्तव्य गरी मार्ने अभियुक्त पक्राउ

आफ्नै आमालाई काठको पिर्काले प्रहार गरी कर्तव्य गरी मारी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ स्थित ठूलो पडरियाका १७ वर्षिय संजय कुमार कहारले आफ्नै आमा ३६ वर्षिय कोकिला कहारलाई पैसाको विवादमा असोज १४ गते राती करिब १२ बजे मारेको प्रहरीले बताएको छ । फरार अभियुक्त कहार भारतको सिमा नजिक लुकिछिपी बसेको भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी गुलरियासंग समन्वय गरी उनलाई असोज १९ गते रातीको ११ बजे पक्राउ गरी इलाका प्रहरी कार्यालय लुम्बिनीबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रबिन्द्र प्रताप गुप्ताले  गाैतम बुद्ध सन्देशमा याे खबर लेखेका छन ।