भारतका लागि नेपाली राजदूत उपाध्यायले राजीनामा बुझाए

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजीनामा पत्र सरकार समक्ष बुझाएका छन् । शुक्रबार दिउँसो परराष्ट्रमन्त्री कृष्णबहादुर महरा मार्फत् राजदूत उपाध्यायले राजीनामापत्र बुझाएका हुन् ।

‘परराष्ट्रमन्त्री मार्फत् मैले प्रधानमन्त्री समक्ष राजीनामापत्र पेश गरेको छु’, राजदूत उपाध्यायले अन्नपूर्णसँग भने ।
उपाध्यायले दुई पटक गरी भारतका लागि नेपाली राजदूत भएर काम गरिसेका छन् । उपाध्याय प्रतिनिधि सभाको चुनावमा कपिलवस्तुबाट चुनाव लड्ने तयारीमा छन् ।

पहिलो पटक सुशील कोइराला नेतृत्वको सरकारले उपाध्यायलाई भारतको राजदूत बनाएको थियो भने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूतले सरकारलाई असहयोग गरेको भन्दै फिर्ता बोलाएको थियो । ओली लगत्तै प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भने पुन उपाध्यायलाई नै राजदूत नियुक्त गरेको छ ।