पूर्वडीआईजी नवराज सिलवाल एमालेमा प्रवेश

करीव ३० वर्षको प्रहरी जीवनमा सधैं जय नेपालको स्यालुट गरेका निवर्तमान डीआईजी नवराज सिलवाल शुक्रवार फरक भावभंगीमा प्रस्तुत भए । उनकै शब्दमा ‘युगपुरुष’ केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेपछि उनले भाषण टुङ्ग्याउँदै धन्यवाद भने । फेरि के संंझीए कुन्नि, माइक समातेर हात उठाउँदै भने-लाल सलाम । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको निर्णयलाई चुनौति दिएका पूर्वडीआईजी नवराज सिलवाल अाज अाैपचारीक रूपमा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

प्रहरीले भन्ने गरेको जय नेपाल शब्दलाई राजनीतिक दलहरुमा कांग्रेसले प्रयोग गर्छ । कांग्रेसबाट अन्यायमा परेको गुनासो गर्दै आएका पूर्वडीआईजी सिलवालले शुक्रवारबाट बिधिवत रुपमा जय नेपाल शब्द त्यागेर लाल सलाम अँगाले । उनले सम्झी सम्झी लालसलाम भनेपछि बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा ताली र सुसेलाको गडगडाहट सुनियो ।

पार्टी प्रवेशका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीकै गाडीमा कार्यक्रमस्थल पुगेका सिलवाललाई एमाले कार्यकर्ताले ओलीलाई भन्दा बढी ताली र हुटिङबाट स्वागत गरे । ललितपुर गोदावरीका स्थायी बासिन्दा सिलवाल पार्टी प्रवेश भने काठमाडौं जिल्ला कमिटीको कार्यक्रममार्फत गरे ।

तत्कालिन डीआइजी जयबहादुर चन्दलाई आइजिपी बनाउने सरकारको निर्णयविरुद्ध अदालतको सर्वोच्चको ढोकामा पुगेका थिए । आफूले प्रहरी प्रमुख हुन पाउने भन्ने मागदाबीलाई सर्वोच्चले अस्वीकार गरेसँगै सिलवाल एमालेमा प्रवेशको चर्चा सुरु भएको थियो ।
सिलवाल शुक्रबार नेकपा एमाले पार्टी कार्यालय पुगेर प्रवेश गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले टिका लगाउँदै स्वागत गरेका थिए ।
प्रवेश कार्यक्रम एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको थियो ।

यसअघि एमाले अध्यक्ष ओलीले सिलवाललाई गृहमन्त्री बनाउने भन्दै भाषण गर्दै अाएका थिए । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएमा प्रचण्ड र सिलवाल एउटै पार्टीमा हुने भएका छन् ।