नेपालगन्जको कारकादोचाेक स्थित डिपार्टमेन्ट स्टोरमा आगलागी, लाखौंको क्षति

नेपालगन्जको कारकादो चोक स्थित न्यू आरडी डिपार्टमेन्ट स्टोरमा बिहीबार राती आगलागी भएको छ । राती ९ बजेतिर एक्कासी लागेको आगोले मिना शाहीको डिपार्टमेन्ट स्टोर पूर्ण रुपमा क्षतिग्रस्त भएको हाे ।

घटनाको जानकारी पाउन साथ १० मिनेटमै पुगेका दमकल र प्रहरीले स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिन खाेज्दाखाेज्दै डिपार्टमेन्टल स्टोर आगलागीबाट पूर्ण रुपमा क्षतिग्रत भएको हो । संगैै रहेको नेपालगन्ज स्पोर्ट हाउस पनि आगगलागीबाट प्रभावित भएकाे छ । डिपार्टमेन्टल स्टोरमा झण्डै ६० लाखको सामान रहेको सञ्चालकले प्रहरीलाई जानकारी दिएका छन् ।

आगलागीबाट भएको क्षति एकिन नभई सकेको बाके प्रहरी प्रवक्ता, डिएसपी सुधिर शाहीले जानकारी दिए । वडा प्रहरी कार्यालयका इन्चार्ज, राजन गौतमको कमाण्डमा प्रहरी टोली आगलागी नियन्त्रणका लागि खटिएको थियो । पसलमा आगलागी भएपछि सञ्चालक शाही अर्धचेत अवस्थामा पुगेकी थिइन् ।

उनलाई आफन्तहरुले सम्हालिरहेका छन् । प्रहरी, दमकल र स्थानीय सक्रियताले तत्कालै आगो नियन्त्रणमा लिइएकाले अन्य पसलहरुमा आगो फैलन भने पाएन ।