सीमा रक्षक देवनारायण पक्राउमा भारतीय नियत छर्लङ्गै

सीमा बचाउ अभियानका अगुवा देवनारायण यादवको मुद्दा थप लम्बिदै गएको छ । भारतीय प्रहरीले अपहरणको नाममा पक्राउ गरेका यादवको बाबु छोराकै सुनुवाईमा अदालतले उदासिनता देखाएको छ । यादव र उनका छोरा अजयकुमार यादवलाई छुटाउन आज भारतको सुपौल जिल्लास्थित बिरपुरको अनुमण्डलीय व्यबहार न्यायलयमा उनकी बुहारीको बयान हुने भएको छ । यादवकी बुहारी ज्योती कुमारीले मंगलवारदेखि न्यायालयमा बयान दिन गइरहँदा पनि न्यायिक अधिकारीहरुले मुद्दा लम्ब्याउने खेलमा लागेको गुनासो पाेखिन ।

कुमारीले आफ्नै कारण आफ्ना पति र ससुरालाई भारतीय अधिकारीले जेलमा राखेको र आफु आउँदा न्यायिक अधिकारी नभएको भन्दै फर्काउने गरेकोबाट उनीहरुको पूर्वाग्रही व्यबहार उजागर भएको बताइन । भारतीय सुरक्षा अधिकारीको सल्लाह अनुसार यादव बाबुछोरालाई छुटाउन अपहरण भएको भनिएकी देवनारायणकी बुहारी ज्योती कुमारीलाई न्यायालयमा बयानका लागि सप्तरीका स्थानीय प्रशासनले मंगलवारदेखि पठाइरहेको छ ।

न्यायालयमा समयमा न्यायाधीश उपस्थित नहुँदा बुधवार बयान सुरु गर्ने प्रक्रिया पुरा गरेर शुक्रवार बयानका लागि बोलाएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । नेपालमा आरोपित पक्राउ परेको २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु पर्ने हुन्छ । तर यादव बाबुछोरालाई पक्राउ गरेर ५ दिनदेखि भारतको बिरपुर जेलमा राखेपनि त्यहाँको न्यायलयमा उपस्थित गराएइको छैन ।

भारतको कुनौली १ का ज्योती कुमारीलाई देबनारायणका छोरा अजयले भगाएर प्रेम विवाह गरेकोले ज्योतीको दाजु संजितकुमार साहले नाबालिका अपहरण गरेको उजुरी दिएका थिए । बिरपुर अदालतमा देबनारायण, उहाँका छोरा अजय, दिपक कुमार यादव र ननु यादवबिरुद्ध मानव अपहरण मुद्दा दर्ता गरिएको छ