प्रहरीबाट यसरी छुट्छन् अवैध कुखुरा र चल्लाका तस्करी

कसरी हुन्छ कुखुरा र चल्लाको तस्करी ?

भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको तयारी कुखुरा र चल्ला प्रहरीले बरामद गरेपनि कारवाही नगरेर छोड्दा तस्कर र ओसार पसारमा संलग्नले प्रसय पाउने गरेका छन् । केहि दिनअघि भारतबाट भित्र्याउँदै गरेको कुखुराका चल्लासहित ओसारपसार गर्न प्रयोग भएको बोलेरो गाडी र ओसारपसारमा संलग्न व्यक्तिलाई प्रहरीले क्षेत्रीय पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको जिम्मा लगाएको थियो । तर, गाडी र ओसारपसारमा संलग्नलाई आर्थिक जरिवाना गरेर छोडियो ।

भारतबाट पंक्षि तथा पंक्षिजन्य वस्तु आयातमा प्रतिवन्ध छ । भारतका विभिन्न स्थानमा वर्डफ्लुको संक्रमण रहेकोले नेपाल सरकारले भारतबाट पंक्षि तथा पंक्षिजन्य वस्तु आयातमा प्रतिवन्ध लगाएको छ । भारतबाट पंक्षि तथा पंक्षिजन्य वस्तु ल्याए अवैध मानिने भएकोले कानुनी कारवाहीको व्यवस्था पनि सरकारले गरेको छ, तर भारतबाट कुखुरा र कुखुराका चल्ला ल्याउँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ परेकालाई समेत कानूनी कारवाही नगरेर जरिवानाको भरमा छोडिँदा तस्करहरुले प्रसय पाउने गरेका छन् ।

कानूनी कारवाही गर्ने ऐन, कानून भएपनि तयारी कुखुरा र चल्ला सहित पक्राउ परेकालाई समेत रकम जरिवाना तिराएर छोडिने गरेको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. शंकर पाण्डेले बताए । उनले अवैध रुपमा पंक्षि तथा पंक्षिजन्य वस्तु आयात गर्नेलाई कानून कारवाही गर्ने प्रावधान भएपनि अहिलेसम्म कसैका विरुद्ध मुद्धा दायर नभएको बताए । ‘कानून त छ, तर कारवाहीका लागि प्रक्रिया चलाउने र मुद्धा दायर गर्ने कर्मचारी छैनन्, अहिलेसम्म मुद्धा दायर नभएपनि अव दायर गर्ने तयारीमा छौँ,’ उनले भने ।

एक वर्षमा करिव ३४ हजार कुखुरा र चल्ला नियन्त्रण

पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले आर्थिक वर्ष २०७३/०७४ को एक वर्षमा ३० हजार ८ सय ४२ कुखुराका चल्ला र ३ हजार २ सय १८ वटा तयारी कुखुरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । अवैध रुपमा भारतबाट ल्याउँदै गरेका चल्ला र तयारी कुखुरा नियन्त्रणमा लिएर नष्ट गरिए पनि ओसार पसारमा संलग्नलाई आर्थिक जरिवाना मात्र गरिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. पाण्डेले जानकारी दिए । अवैध चल्ला र कुखुरा ल्याउनेहरुबाट ५ लाख रुपैयाँ राजस्व संकलन भएको क्वारेन्टाइन प्रमुख डा. पाण्डेले बताए । क्वारेन्टाइन कार्यालयले कुखुरा र चल्ला ल्याउनेको संख्या भने सार्वजनिक गरेको छैन ।

कुखुरा र चल्ला तस्करी गर्ने गिरोह सक्रिय

भारतबाट कुखुरा तथा कुखुराजन्य बस्तु आयातमा बाँके र बर्दियामा ठूलै गिरोह सक्रिय रहेको तथ्य बाहिर आएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले गत बिहीबार गौघाट नाका हुँदै नेपाल भित्र्याउँदै गरेको भारी परिमाणको भारतीय व्रोइलर कुखुरा नियन्त्रणमा लिएपछि भारतबाट कुखुरा भित्र्याउने ठूलै गिरोह सक्रिय रहेको तथ्य बाहिर आएको हो । प्रहरीले भारतबाट बोलेरो जीपमा ल्याउँदै गरेको ५ हजार एक सय कुखुराका चल्ला एकैदिन नियन्त्रणमा लिएको थियो ।

प्रहरी टोलीले गौघाटबाट तस्करीमा संलग्न बढैयाताल गाउँपालिका–२, बर्दियाका ३६ वर्षिय लाल बहादुर सिंह, सहयोगी सोही ठाउँका नगेन्द्र सिंह र भीम बहादुर वस्नेतलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर तामाङ्गले जानकारी दिए । सो अवसरमा प्रहरीले कुखुरा ओसार्न प्रयोग गरिएको भे १ च २२४१ नं. को बोलेरो जीपसमेत नियन्त्रणमा लिएको जनाएको छ ।जीपसहित कुखुरा, चल्ला, तस्कर र सहयोगी पक्राउ परेको यो पहिलो घटना भने होइन् । प्रहरीले पटक–पटक यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गर्दै छोड्दै आएको छ । पक्राउ परेकालाई प्रहरीले पशु क्वारेन्टाइनमा बुझाए पनि कतिपयलाई विचमै छोडि दिने गरेको छ ।

पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. शंकर पाण्डेले पनि अवैध रुपमा चल्ला र तयारी कुखुरा आयात गर्ने ठूलै गिरोह सक्रिय रहेको जनाएका छन् । उनले कुखुरा र चल्लाको अवैध ओसोर पसार एवम् ब्यापार गर्नेको ठूलै जालो रहेको बताए । कुखुरा र चल्ला ओसार पसार गर्ने ठूलै गिरोह सक्रिय रहेकोले मुख्य नाइकेलाई पक्राउ गर्न र कारवाही गर्न नसकिएको बताए । ‘अवैध रुपमा कुखुराको ब्यापार गर्ने गिरोहको खोजी भएपनि अहिलेसम्म पत्ता लगाउन सकिएको छैन, पत्ता लगाए पनि विविध कारणले कारवाही प्रक्रिया अगाडी बढाउन सकिएको छैन,’ उनले भने ।

कसरी हुन्छ कुखुरा र चल्लाको तस्करी ?

भारतीय ब्यापारीहरुले तयारी कुखुरा र चल्ला नेपाल–भारत सीमानाका बर्दियाको जमुनीसम्म ल्याउँछन् । बाँके प्रहरीका अनुसार, भारतीय ब्यापारीले खवर गरेपछि नेपालका ब्यापारी र तस्करहरु नेपाली बिल, भरपाई, कागजपत्र र कार्टुन लिएर जमुनी पुग्छन् ।भारतीय चल्लालाई यताका ब्यापारी र तस्करले नेपाली उद्योगको कार्टुनमा हालेर नेपाली ब्राण्ड दिएर नेपालका विभिन्न स्थानमा पुर्‍याउने गरेका छन् । भारतीय चल्ला ल्याउनमा नेपालका ह्याचरी उद्योगको समेत संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

यसैगरि, भारतीय तयारी कुखुरा नेपाल भित्र्याउन पनि ब्यापारी र तस्करले ठूलै कसरत गरेको पाइन्छ । सीमा क्षेत्रका ब्यापारीले कुखुरा नपालेर भारतीय कुखुरा गोदाम गर्ने र उक्त कुखुरा बजारमा पठाउने गरेको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ । ‘तस्कर र ब्यापारीले अनेकौँ प्रपन्च रचेर भारतीय कुखुरा र चल्लालाई नेपाली ट्याग लगाउने गरेको पाइन्छ,’ पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा. पाण्डेले भने । नयाँ पत्रिकामा खबर छ ।