कृत्रिम खुट्टाको सहारामा सगरमाथा चुम्ने अठोट

‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ रोल्पाका हरि बूढा मगरको दरिलो आत्मबल र अठोट महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी हरफमा झल्किन्छ। हरिका दुवै खुट्टा घुँडामुनि काटिएका छन्। उनी कृत्रिम खुट्टाको सहारामा हिँडडुल गर्छन्। उनको शारीरिक अवस्था देख्नेहरू उनको उद्देश्य सुनेर आश्चर्यमा पर्छन्।

तर, उनी पाँच वर्षयता निरन्तर लक्ष्य चुम्न दत्तचित्त भई लागिपरेका छन्। उनको लक्ष्य हो, विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने। आउँदो वसन्त ऋतुमा उनले सगरमाथा चढ्ने योजना बुनेका छन्। उनले यही असोज ३ गते ६ हजार ४ सय ७६ मिटर उचाइको मेरापिक हिमाल आरोहण गरिसकेका छन्। ३८ वर्षीय हरि रोल्पाको जेवारी गाउँमा जन्मिएका हुन्। उनको गाउँबाट हिमालनजिकै देखिन्छ। सानै छँदा उनमा हिमाल चढ्ने रहर पलाएको थियो।

तर, बल्ल आएर त्यो रहर पूरा भएको छ। सामान्य परिवारमा हुर्किएका उनले एसएलसीसम्म अध्ययन गरेका छन्। २०५६ सालमा लिवाङको बालकल्याण उच्च माविमा प्रमाणपत्र तह पढ्दै थिए, उनी बेलायती गोर्खा सैनिकमा भर्ती भए। २०६७ सालमा पहिलो गोर्खा राइफलमा कार्यरत रहँदा गस्तीकै क्रममा तालिवान र अलकायदाले बम प्रहार गरे। उनले दुवै खुट्टा गुमाउनुपर्‍यो। ‘अफगानिस्तानको हेल्मान्ड प्रान्तको युद्धमा मैले बहादुरी त देखाएँ तर झन्डै जीवन गुमेन’, बम प्रहारमा परेको क्षण सम्झिँदै उनी भन्छन्। २०७१ सालमा जागिरबाट अवकाश भए।

एकाएक शारीरिक रूपमा अशक्त भए पनि उनले हरेस खाएनन्। ‘त्यसपछि मैले विभिन्न सीप सिक्न थालें, जसले मलाई साहस र आत्मबल थप्यो’, उनी भन्छन्। खुट्टा नभए पनि उनले अवकाश जीवनमा जोखिमपूर्ण खेल स्काई डाइभिङ, स्की, कायकिङ खेल्न सुरु गरे। आकाशबाट हाम फालेर सकुशल भुइँमा टेक्न सफल भएपछि ‘जे पनि गर्न सक्छु’ भन्ने लागेर हिमाल चढ्ने लक्ष्यमा उनी पुगे। स्की, कायकिङ, ब्याडमिन्टन, गल्फका उनी उत्कृष्ट खेलाडीसमेत हुन्। सगरमाथा आरोहणका लागि पहिले ६ हजारभन्दा माथिको एउटा हिमाल चढेको हुनुपर्ने नियम छ। नियम पूरा गर्न उनले मेरापिक हिमालको सफल आरोहण गरे। दुवै खुट्टाविहीन उनको यो आरोहणले रेकर्ड बनायो।

गोर्खा सैनिककै दक्ष आरोही कृष्ण थापा मगरले उनलाई आरोहणमा सहयोग पुर्‍याएका छन्। ‘हरिले हिमाल चढ्न भनेर जर्मनीमा स्की, कायकिङ, रक क्लाइम्बिङजस्ता एड्भान्चर खेललाई निरन्तरता दिइरहेका छन्’, उनी भन्छन्, ‘दुई वर्षदेखि नेपालकै गोसाइँकुण्डमा तालिम लिँदै छन्। आइस क्लाइम्बिङ तालिम फ्रान्समा लिएपछि उनको आत्मबल अझ बढेको छ।’ दाजुभाइमध्ये माइला हरिको ११ वर्षकै उमेरमा बिहे भएको थियो। उनका एक छोरी र दुई छोरा छन्।

श्रीमती उर्मिला हरिले हिमाल चढ्ने कुराको पक्षमा थिइनन्। पछि आत्मबल र अठोट देखेपछि उर्मिला सकारात्मक भइन्। उनका बुवा पुरै बूढा मगर पनि सुरुमा शारीरिक रूपमा अशक्त छोरालाई देखेर भक्कानिन्थे तर अहिले साहसिक काम गर्न अग्रसर भएको देख्दा खुसी छन्। ‘गरे जे पनि सकिन्छ तर नगरे सपांगले पनि केही गर्न सक्दैन। सगरमाथा चढेपछि समाजलाई मेरो सन्देश यो नै हुनेछ’, हरि भन्छन्, ‘गोर्खालीको नाम र शानलाई हौसला दिन तथा घाइते भए पनि अझै गोर्खाली शानलाई माथि उठाउने मेरो उद्देश्य हो।’

बेलायती गोर्खा सैनिक परिवारले उनलाई सहयोग गरेको छ। हिमालयन स्की एन्ड ट्रेकका मिङमा डेभिड शेर्पालगायत पर्वतारोहण गाइड, शेर्पा र अमेरिकी गाइड उनको सहयोगमा खडा छ। एक अमेरिकी कम्पनीले हिँड्न र हिमाल चढ्न मिल्ने कृत्रिम खुट्टा सहयोग गरेको छ। प्राविधिक र वैज्ञानिक परीक्षण गरी बनाइएको खुट्टा नै उनलाई अर्को प्रेरणा बन्यो। ‘यसरी म शिखर पुग्ने लक्ष्यमा छु’, उनी भन्छन्, ‘सगरमाथाको सफल आरोहण गरेर उदाहरण बन्छु, समाजलाई अशक्तप्रति सकारात्मक बनाउने भूमिका खेल्छु।अन्नपुर्णबाट