२३ घुमुवा प्रहरी एक महिनादेखि थुनामा-विवादमा घुमुवा प्रहरी

जिम्मेवारीविपरीत गतिविधिमा लागेको आरोपमा प्रदेश नं. १ का विभिन्न जिल्लामा सादा पोसाकमा काम गर्ने २३ प्रहरी एक महिनादेखि थुनामा छन् । उनीहरूलाई बाहिर जान नदिई गणमा राखिएको छ । प्रदेश नं. १ प्रहरी कार्यालयले घुमुवा प्रहरीका नामले चिनिने सादा पोसाकमा काम गर्ने प्रहरीहरूमाथि शुद्धीकरण अभियान सुरु गरेको हो । तर, ती प्रहरीले भने विना कुनै कारण आफूहरूलाई घर जानसमेत नदिई थुनामा राखेर यातना दिइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्लामा कार्यरत २४ जना सादा पोसाकमा कार्यरत प्रहरीलाई तालिम दिएको थियो । गत २५ भदौमा उनीहरूलाई तालिम केन्द्रमा तानेर अनुशिक्षण तालिम दिइएको थियो । त्यसपछि १० असोजदेखि उनीहरूलाई विराटनगरको रानीस्थित प्रहरी गणमा राखिएको छ । सूचना संकलनको काम प्रभावकारी रूपमा नगर्ने घुमुवा प्रहरीहरूलाई हटाएर पुनर्ताजगी तालिम दिन थालिएको प्रदेश नं. १ का प्रहरी प्रमुख एआइजी पशुपति उपाध्यायले बताए ।

गणभित्र राखिएकामध्ये एक प्रहरीले राजीनामा दिएका छन् । चार असइ, ६ हवल्दार र १३ जना सिपाहीलाई तालिमपछि जिम्मेवारी नदिई बाहिर निस्कन नपाउने गरी गणमा राखिएको छ । दसैँमा समेत आफूहरूलाई घर जान नदिइएको र विनाकारण गणभित्र ‘थुनेर’ राखिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा, इलाम, मोरङ, पाँचथर, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सप्तरी तथा इलाका प्रहरी कार्यालय इटहरी र रंगेलीमा कार्यरत सादा पोसाकका प्रहरीहरूलाई गणभित्र राखिएको हो । एआइजी उपाध्यय प्रदेश नं. १ मा गएलगत्तै उनीहरूलाई गणमा राखेका हुन् । उनीहरूलाई छिट्टै जिम्मेवारी दिइने उपाध्ययको भनाइ छ ।

विवादमा घुमुवा प्रहरी

देशभरिकै घुमुवा प्रहरीहरू विवादमा पर्ने गर्छन् । घुमुवाहरू हटाएर प्रहरी मुख्यायले अपराध अनुसन्धान समूह गठन गर्ने योजना बनाए पनि कार्यान्वायन हुन सकेको छैन । सूचना संकलनका लागि सादा पोसाकमा काम गर्ने प्रहरीहरू आर्थिक लेनदेनका विवादमा पर्ने गरेका छन् । उनीहरू हाकिमका निकट भएर काम गर्ने र पैसा उठाउने गर्छन् । धनुषा र सप्तरीका दुई घुमुवा प्रहरीलाई पनि मुख्यालयले गत महिना झिकाएर अनुसन्धान गरेको थियो । घुमुवा प्रहरीकै गलत गतिविधिका कारण प्रहरी संगठन नै बदनाम हुने गरेको छ । नयाँ पत्रिकाबाट