देवनारायण छुट्ने अझै टुंगो छैन,के हो एक वर्षअघिको घटना ? को हुन् देवनारायण ?

स्थानीय प्रशासनको ढिलाइले देवनारायणको रिहाइ अन्योल

अपहरण आरोपमा सप्तरी तिलाठीका देवनारायण यादव र उनका छोरा अजयकुमार तीन दिनदेखि भारतीय कारागारमा छन् । भारतीय प्रहरीले दुवैमाथि कुनौलीकी युवती ज्योतिकुमारी साह अपहरण गरेको मुद्दा लगाएको छ । सुपौल जिल्लास्थित अनुमण्डल व्यवहार न्यायालय वीरपुर अदालतमा मंगलबार दुवैको रिहाइका लागि कानुनी कारबाही प्रक्रिया अगाडि बढ्ने बताइएको थियो । तर, अदालतमा कर्मचारी अभाव देखाएर प्रक्रिया रोकिएको छ ।

आफ्नो अपहरणको आरोपमा भारतीय प्रहरीले पति र ससुरालाई पक्राउ गरी कारागारमा राखेपछि ज्योतिकुमारी बयान दिन मंगलबार वीरपुरस्थित अदालत पुगेकी थिइन् । उनले बुधबार अदालतमा बयान दिने भएकी छिन् । भारतीय प्रहरीले शनिबार साँझ अजयकुमारलाई र आइतबार देवनारायणलाई पक्राउ गरेको थियो । तीन दिनदेखि सुपौल जिल्लाको वीरपुर कारागारमा रहे पनि उनीहरूको रिहाइका लागि नेपाल सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन ।

स्थानीय प्रशासनको ढिलाइले देवनारायणको रिहाइ अन्योल

यादव बाबुछोराको रिहाइका लागि पहल गर्न सोमबारै गृहमन्त्री जनार्दन शर्माले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेलाई निर्देशन दिएका थिए । पाण्डे सम्मिलित जिल्ला सुरक्षा प्रमुखहरूको टोलीले मंगलबारबाट मात्र घटनाबारे भारतको सुपौल जिल्लास्थित कुनौली थानासँग औपचारिक जानकारी लिएको छ ।

टोली मंगलबारै बिहान तिलाठी गाउँपालिकास्थित देवनारायणको घरमा पुगेर घटनाबारे जानकारी लिएको छ । प्रजिअ भगीरथ पाण्डे, नेपाल प्रहरीका उपरीक्षक मुकेशकुमार सिंह र सशस्त्र प्रहरी उपरीक्षक रामआधार यादवसहितको टोलीले अपहरण भएको भनिएकी ज्योतिकुमारी साहसँग बयान लिएको थियो । ज्योतिले आफ्नो अपहरण नभई अजयसँग विवाह गरेको बताएकी थिइन् । ‘मैले राजीखुसी अजयसँग विवाह गरेकी हुँ । अहिलेको घटनाक्रम षड्यन्त्रमूलक छ,’ उनको भनाइ थियो । ज्योतिले अजयसँग भागेर विवाह गरेकी हुन् ।

के हो एक वर्षअघिको घटना ?

एक वर्षअघि भारतीयहरूले खाँडो नदीमा बाँध बाँधेपछि नेपालतर्फको तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियासहितका गाविस डुबानमा परेका थिए । सो बाँध भारतीय प्रहरी, सीमा सुरक्षा बल (एसएसबी) र कुनौलीका स्थानीयले नेपाली भूमि मिचेर बनाएका थिए । आधा दर्जनभन्दा बढी गाविस डुबानमा परेपछि हजारौँ नेपाली नागरिक विस्थापित हुने अवस्था सिर्जना भएको थियो । सोही वेला देवनारायण यादवकै नेतृत्वमा नेपालीहरूले बाँध भत्काइदिएका थिए । बाँध भत्काउने क्रममा भारतीय र नेपालीबीच दोहोरो झडपसमेत भएको थियो । झडपमा भारतीयसहित आठ नेपाली घाइते भएका थिए । झडपमा यादव पनि गम्भीर घाइते भएका थिए । उनको टाउकोमा आठ टाँका लागेको थियो।

उनलाई ‘राष्ट्रिय स्वाभिमानका लागि युवा अभियान’ नेपाल नामक संस्थाले काठमाडौं ल्याएर सम्मानसमेत गरेको थियो । भारतीय अतिक्रमणविरुद्धको योद्धाका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित यादव त्यही घटनाबाट भारतीय प्रशासनको तारो बनेका थिए । भारतीय प्रहरीले घटनाको प्रमुख दोषीको रूपमा यादवलाई राखेर प्रतिशोध राखेको थियो । उनलाई त्यही एक वर्षअघिको मुद्दामा फसाइएको स्थानीयको दाबी छ ।

को हुन् देवनारायण ?

०१५ मा तिलाठीमा जन्मिएका देवनारायण ०२८ देखि राजनीति र समाजसेवामा सक्रिय छन् । ०४८ को स्थानीय निर्वाचनमा उनले स्वतन्त्र रूपमा वडा सदस्य जितेका थिए । यसपछि लामो समय कांग्रेस राजनीति गरे । सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल सप्तरीका अध्यक्ष भएपछि सीमावर्ती क्षेत्रका समस्यासँग नजिक भए ।

भारतीयहरूले सीमा क्षेत्रमा नेपालीलाई गर्ने हेपाहा व्यवहारविरुद्ध उनी निरन्तर लड्दै आएका थिए । उनी गत वर्ष १३ साउनको घटनापछि धेरै चर्चामा आएका हुन् । त्यही घटनाबाट चर्चामा आएका यादवलाई सरकारले जनसेवाश्रीबाट सम्मान गरेको थियो । यादवले ‘सीमा रक्षक’को रूपमा प्रसिद्धि कमाएका छन् ।

ज्योतिको उमेर १८ वर्ष

अपहरणमा परेकी भनिएकी ज्योतिकुमारी १८ वर्ष पुगेको पाइएको छ । उजुरीमा भने उनलाई नाबालक भनिएको छ । भारतमै बनेको आधारपत्रमा ज्योतिको जन्म सन् १९९९-०२-०१ लेखिएको छ । सो आधारपत्रका आधारमा उनको उमेर १८ वर्ष पुगेको देखिन्छ । ज्योतिकुमारीका दाजु सञ्जितकुमारले भारतको कुनौली थानामा दिएको उजुरीमा नाबालिका बहिनीलाई सप्तरीको तिलाठीनिवासी अजयकुमार यादव, उनका बाबु देवनारायण यादवसहित चारजनाले अपहरण गरेको आरोप लगाएका छन् । नयाँ पत्रिकाबाट