जब बडादशैंका लागि लाखाैँ मान्छे बाहिरिए

यसरी शान्त बन्यो कोलाहलमय शहर काठमाडौं

हिन्दु नेपालीहरुको महान चाड बडादशैंका लागि राजधानीबाट घटस्थापनादेखि आजसम्म २३ लाख बाहिरिएका छन् । विभिन्न पेशा, ब्यवसाय तथा अध्ययनका लागि राजधानीमा रहँदै आएको ठूलो समूहले एकै पटक राजधानीबाट बाहिरिएपछि राजधानी यतिबेला सुनसान बनेको छ । सधैं ट्राफिक जामको हैरानी खेप्नुपर्ने बाध्यता हटेको छ भने ट्राफिक प्रहरीसमेत चोकचोकमा हात हल्लाएर बस्नु परेको छैन । विहीबार भन्दा शुक्रबार राजधानीका सडक झनै सुनसान बनेको छ । छिटफुट रुपमा निजी सवारी साधन संचालन भएपनि सार्वजनिक यातायात ठप्प छन् ।

सधैं व्यस्त रहने राजधानीका मुख्य बजार न्युरोड, असन, घण्टाघर, रत्नपार्क पुतली सडक, बागबजार, बानेश्वर, दरबारमार्ग लगायतका सडकमा छिटफुट मात्रै गाडीहरु चलेका देखिन्छन् । दशैंको अवसर पारेर बढी भाडा लिने लामो दूरीका गाडीलाई कारबाही गर्ने भन्दै प्रहरीले चेकजाँच कडा पारेको छ । दशैंको अवसर पारेर बढी भाडा लिएका १४ लामो दूरीका र ६० वटा ट्याक्सीलाई प्रहरीले कारबाही गरेको छ ।

हरेक दिन सवारी साधनको जाम र सर्वसाधारणको घुइँचो हुने राजधानी काठमाडौंका सडक सुनसान बनेका छन् । बजार, पसल र होटलहरु पनि अधिकांश बन्द छन् । राजधानी काठमाडौंलाई कार्यस्थल बनाएर बसेकाहरु दशैं मनाउन घर फर्केसँगै सडकहरु सुनसान बनेका छन् । वडा दशैंको अघिल्लो दिन महानवमीका दिन शुक्रबार राजधानीका मुख्य र सहायक सडकहरुमा कममात्रै सवारी साधन चलेका छन् । छिटफुट रुपमा निजी सवारी साधन सञ्चालन भएपनि सार्वजनिक यातायात ठप्प प्राय छन् ।

अधिकांश दशैं मनाउन राजधानी बाहिर जानु र राजधानीमै बसेका पनि आ-आफ्ना घरमा पारिवारिक जमघटमा बसेपछि कोलाहलको शहर भनेर चिनिने काठमाडौं शान्त छ ।