दोलखा भीमसेनकाे पसिनापछि अनिष्ट, वास्तविकता की संयोग ?

दोलखा भीमेश्वर मन्दिरको सिलामा पसिना आएको छ । शिला कालो भएर ५ थोपा पसिना बगेको स्थानियले बताएका छन् । मन्दिरमा पसिना आएपछि दर्शनार्थीको भीड लागेको छ । भीमेश्वरको सिलामा पसिना आउनुलाई अनिष्टको सुचकका रुपमा लिने गरिएको छ ।दोलखाकोे भीमेश्वर नगरपालिका– २ स्थित भीमेश्वरको मन्दिरमको शिलामा दायाँ, बायाँ र बिचबाट एकै पटक पसिना आएको यो पहिलो पटक हो । मंगलबार दिउँसो २ बजेर ५५ मिनेटदेखि ३ बजेर २७ मिनेट जाँदासम्म निरन्तर पसिना आएको गुठीयार एवं भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष विराजमान श्रेष्ठले बताए ।

शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ । २०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरलाई पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भूकम्प गएको थियो । भगवान भीमसेनको शिलामा आठ वर्षपछि फेरि पसिना आएको हो । दोलखामा रहेको भीमेश्वरलाई पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास रहँदै आएको छ। भीमसेनको शिलाको दायाँबाट पसिना आउँदा राजदरबारलाई र बायाँबाट पसिना आउँदा जनातामा अनिष्ट हुने प्रचलन रहेको छ तर यसपटक भीमसेनको शिलाको शिरबाट तीनधारा हुँदै पसिना आएको छ ।

पसिनापछि अनिष्ट, वास्तविकता की संयोग ?

भीमसेनको शिलामा पसिना आएको ६ महिनाभित्र देशमा केही न केही ठूला घटनाहरू हुने गरेको जनविश्वास छ ।
भीमसेनमा मन्दिरमा पसिनामा आउँदै ठुला घट्ना घटेका पनि छन् । यसलाई संयोग मान्नेको संख्या पनि छ तर घट्ना भने घटेका छन् ।

भीमसेनको शिलामा पहिलोपटक १९९० सालमा पसिना आएको थियो । त्यतिबेला भीमसेनको बायाँतर्फ पसिना आएकाले देशमा ठूलो भूकम्प गई जनतामा जनधनको क्षति भएको थियो। दोस्रोपटक १९९७ सालमा भीमसेनको शिलामा पसिना आउँदा चारजना नेपाली नागरिकलाई झुन्ड्याएर फाँसी दिइएको थियो ।

त्यसैगरी २००७ सालमा भीमसेनलाई पसिना आउँदा १०४ वर्षे जहानिया राणा शासनको अन्त्य भएको थियो । २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको थियो । २०१८ सालमा भीमसेनलाई पसिना आउदा देशमा ठूलो बाढी पहिरो आई ठूलो क्षति भएको थियो ।

त्यस्तै २०२८ साल माघ महिनामा भीमसेनलाई पसिना आउँदा तत्कालीन राजा महेन्द्रको मृत्यु भएको थियो । त्यसैगरी २०३५ साल फागुनमा पसिना आउदा देशमा जनमत सङ्ग्रह भएको थियो । २०४५ साल चैतमा पसिना आउँदा देशमा ३० वर्षे पञ्चायती व्यवस्थाको अत्य भई देशमा बहुदलीय प्रजातन्त्र आएको थियो ।

त्यसैगरी २०५७ साल माघ १ र १५ गते भीमसेनलाई पसिना आएको थियो । पसिना आएको चार महिना नबित्दै दरवार हत्याकाण्ड हुन भएको थियो । त्यसैगरी २०६१ साल फागुनमा भीमसेनलाई पसिना आउँदा देशमा जनआन्दोलन भयो । २०६३ सालमा पनि भीमसेनलाई पसिना आएको थियो र देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको थियो ।