के हो फूलपाती ? दसैंघर र शक्तिपीठमा किन भित्र्याइन्छ यसरी ?

बडादसैंको सातौं दिन आज सप्तमी। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्वीन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्रयाई मनाइदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्रयाइन्छ ।

काठमाडौंस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्रयाउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राम्हण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दशैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ ।

आजैका दिनबाट सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीब्र हुने गर्छ । ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङगेपिङ र रोटे पिङले दसैंको रौनकतालाई अझ बढाउने गर्छ । सर्वसाधारणले बिहानै वा आफ्नो अनुकूलको समयमा फूलपाती भित्र्याउँछन्। विभिन्न शक्तिपीठ र कोतघरहरूमा अपराह्नतिर फूलपाती भित्र्याउने चलन छ।

 हनुमानढोकास्थित दसैंघरमा पञ्चांग निर्णायक समितिले निकालिदिएको साइतमा अपराह्नतिर फूलपाती भित्र्याइन्छ।

त्यसो भए के हो त फूलपाती ? अनि के महत्त्व छ त यसको ?

नव अर्थात् नौ, पत्रिका अर्थात् पत्र। फूलपातीमा नौ प्रकारका वनस्पति (का पत्र) हुने भएकाले संस्कृतमा यसलाई नवपत्रिका भनिन्छ। केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्तीलाई नवपत्रिका भनिन्छ । दसैंघरमा यी नौ वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गरिन्छ। यी सबै वनस्पति नपाइने ठाउँमा अन्य बोटबिरुवा संलग्न गरी नौवटा पुर्‍याइन्छ।

केराको बोटमा रम्भाधिष्ठात्रीको रूपमा ब्राह्मी, दारिममा रक्तदन्तिका, धानको बोटमा लक्ष्मी, हरिद्रामा दुर्गा, मानकको बोटमा चामुण्डा र कचुको बोटमा कालिकाको पूजा गरिन्छ। यस्तै, बेलको बोटमा शिवा, अशोकको बोटमा शोकहारिणी र जयन्तीमा कार्तिकीको आवाहन गरी पूजा गर्ने परम्परा रहेको छ। नेपालका विभिन्न हावापानीमा पाइने वनस्पतिहरू खाद्य पदार्थको साथै औषधि उपचारमा समेत उपयोगी मानिन्छन्। प्राचीन आयुर्वेदिक पद्धतिमा मात्र नभई आधुनिक चिकित्सामा पनि यिनको प्रयोग गरिन्छ।

औषधीय गुणले युक्त र जीवनका विभिन्न समयमा आवश्यक परिरहने भएकाले यी वनस्पतिहरू फूलपातीमा नवदुर्गालाई चढाउने परम्परा चलेका हो। बडादसैंअन्तर्गतको यो दिनले फूलपाती दसैंघरमा भित्र्याउने र पूजा गर्ने मात्र नभई यिनको महत्त्व बुझेर संरक्षण संवर्धन गर्न प्रेरणा दिन्छ। साथै तिनबाट वातावरणीय र औषधीय रूपमा फाइदा लिई स्वाथ्य रक्षा गर्नसमेत प्रेरित गर्छ भन्ने मान्यता रहिआएको छ।