एमबीबीएस प्रवेश परीक्षा पास हुन्छन्, भर्ना हुँदैनन्

काठमाडौं विश्वविद्यालय (केयू) ले लिएको एमबीबीएस प्रवेश परीक्षामा ८ हजार विद्यार्थीले सहभागिता जनाए । तीमध्ये ४ हजार २ सय जना उत्तीर्ण भए । विश्वविद्यालयको भर्ना क्षमता ८ सय ७० (छात्रवृत्तिसहित) मात्रै छ । विश्वविद्यालयले भर्नाका लागि पहिलो लिस्टमा ८ सय जनालाई ‘काउन्सिलिङ’ मा बोलायो ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको सिट मात्रै पूरा भयो । काठमाडौंका दुई कलेजमा १ सय सिटमा पनि पूरा भर्ना भएनन् । दोस्रो लिस्टमा फेरि ८ सय जनाको नाम सार्वजनिक भयो ।

८ सय सिटमा १ हजार ६ सय विद्यार्थीलाई बोलाउँदा १ सय ७० जना मात्रै भर्ना भए । भर्ना हुनेमा धुलिखेलमा ४६, काठमाडौं मेडिकल कलेजमा ५० र नेपाल मेडिकल कलेजमा ५० जना छन् ।