सवारीसाधनको अभाव ९ दिनका लागि रुट परमिट खुला
प्रकासित मिति : २०७४ आश्विन ११, बुधबार ०४:०३
प्रकासित समय : ०४:०३
पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चलका इलामलगायतका ठाउँमा यात्रुबाहक बसको अभाव भएपछि यातायात व्यवस्था विभागले सडक इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागका अनुसार असोज ११ देखि १९ गतेसम्म इजाजतपत्र खुला गरिएको हो ।
यससँगै उल्लेखित ठाउँमा रुट परमिट नभएका बसहरू पनि यात्रु लिएर जान–आउन पाउनेछन् । ‘यस्तो रुट परमिट सार्वजनिक यात्रुबाहक सवारीसाधनका लागि मात्र उपलब्ध हुनेछ,’ विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने ।
विभागका अनुसार दसैँमा काठमाडौं उपत्यकाबाट बाहिर जाने र आउने यात्रुको यात्रालाई सरल र सहज बनाउन रुट परमिट खुला गरिएको हो । अघिल्ला वर्षहरूमा पनि दसैँमा रुट परमिट खुला गर्ने गरिएको थियो, नयाँ पत्रिकामा खबर छ ।