खटाइएका स्थानमा काम गर्नु कर्मचारीको जिम्मेवारी हाे – मन्त्री बस्नेत

सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले खटाइका स्थानमा इमान्दारीपूर्वक हाजिर भएर काम गर्नु कर्मचारीको प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ । इटहरी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको हरेक समस्याको समाधानमा सहजीकरण गर्नु कर्मचारीको जिम्मेवारी भएकाले आधिकारिक ट्रेड युनियन पदाधिकारीले पहिलो शर्त नै कामलाई दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री बस्नेतले स्थानीय, प्रादेशिक र संघीय संरचनानुरुपको निजामती कर्मचारी सेवा ऐन निर्माण गर्न सरकार लागिपरेको जानकारी पनि दिनुभयो । कतिपय स्थानीय तहमा प्राविधिक एवम अन्य जनशक्ति अभाव रहेकाले त्यसलाई व्यवस्थापन गर्ने विषयमा मन्त्रालयले अधिकतम सहजताका साथ काम गरिरहेकाले ऐनले तोकेको र निर्दिष्ट गरेका कामलाई इमान्दारीपूर्वक सम्पादनमा जोड दिन पनि कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सुनसरीका प्रजिअ गोपालप्रसाद पराजुलीले जिल्लाका १२ स्थानीय तहमध्ये अधिकांशमा संविधानले परिकल्पना गरेबमोजिम ५६५ कर्मचारीको व्यवस्थापन भइसकेको र केही कर्मचारीको व्यवस्थापन हुने क्रममा रहेको जानकारी दिनुभयो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत सागर मिश्रले मौजुदा कर्मचारीको अधिकृतम व्यवस्थापन गरेर जनतालाई सुविधा उपलब्ध गर्ने प्रयत्न भइरहेको उल्लेख गर्नुभयो ।