माधव नेपालको गृह जिल्लामा एमालेको बेहाल

रौतहटको १८ स्थानीय तहमध्ये ४ वटामा मतगणना सकिएर अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये नेकपा माओवादी केन्द्र दुई स्थानमा विजयी भएर राैतहटमा अग्र स्थानमा छ । त्यस्तै नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक पनि एक-एक तहमा विजयी भएका छन् ।

माओवादीबाट रौतहटको मौलापुर नगरपालिका मेयरमा रिनासाह र यमुनामाई गाउँपालिका प्रमुखमा मोहम्मद मन्सद रान्के विजयी भएका छन् । नेपाली कांग्रेसका शेख वकिलले परोहा नगरपालिका मेयर जितेका छन्। त्यस्तै, ईशानाथ नगरपालिका मेयरमा फोरम लोकतान्त्रिकका सन्तोष मेहता विजयी भएका छन् ।

अन्तिम नतिजा घोषणा हुन बाँकी १४ स्थानमध्ये नेपाली कांग्रेस सबभन्दा बढी ८ स्थानमा अगाडि छ । कांग्रेस उम्मेदवारले अग्रता लिएका स्थानहरु फतुवा विजयपुर नगरपालिका, राजदेवी नगरपालिका, गजुरा नगरपालिका, चन्द्रपुर नगरपालिका, बृन्दाबन नगरपालिका, राजपुर नगरपालिका, दुर्गा भगवती गाउँपालिका र गरुडा नगरपालिका हुन् । संघीय समाजवादी फोरम नेपाल तीन स्थानमा अगाडि छ।

देवाही गोनाडी नगरपालिकामा, बौदिमाई नगरपालिका र माधवनारायण नगरपालिकामा फोरमका उम्मेदवार अगाडि छन् । राष्ट्रिय जनता पार्टी (नेपाल) ले गढीमाई नगरपालिका र गौर नगरपालिकामा अग्रस्थान हासिल गरेको छ। माओवादी केन्द्रले कटहरिया नगरपालिकामा अग्रता लिएको छ । राैतहट एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्लामा हो ।