महानगरका मतगन्ने पारा उस्तै : पाँच दिनमा रिजल्ट आउन मुस्किल

प्रदेश नम्बर–२ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको मतगणना जारी छ ।ठाकुरराम बहुमुखी क्याम्पसको भवनमा मंगलबार दिउँसो२ बजेर १० मिनेटबाट मत गणना शुरु गरिएको हो । कुनै बेला मधेस आन्दोलनको केन्द्र बनेको वीरगञ्ज महागरपालिकाका मत परिणाम सबैले चासोको साथ कुरिररहेका छन् ।

दिउँसो वडा नं १ बाट मत गणना शुरु गरिएको भएपनि अबेररातिदेखि १, २, ३, ३०, ३१, ३२ को मत गणना भईरहेको छ । ६ वटा टोलीले मत गणना गरिरहेको छ ।पर्साका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले मतगणना स्थल अझै थप गर्दै लैजाने बताए । मत गणनाको गति बढाउनका लागि मत गणना स्थल ११ वटा पु¥याउने लक्ष्य राखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी केशव कौशिकले अब भोलि मात्रै मतगणना टोली थप हुन सक्ने जानकारी दिए । ‘६ ठाउँमा मत गणना चलिरहेको छ । रात परिसक्यो, अब भोलि मात्रै मतगणना टोली थप गर्न सकिन्छ होला’ उनले भने ।

बिहान साढे ११ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय सर्बदलीय बैठकले गरेपनि मतगणनास्थलमा सीसी क्यामेरा जडान गर्न समय लागेको र दलका प्रतिनिधी पनि ढिला गरी आएका कारण दिउँसोदेखि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले मत गणना स्थलमा अवाञ्छित गतिविधि नहोस भनेर कडा सुरक्षा व्यवस्था मिलाईएको जानकारी दिए । गणना हुनेमा ढुक्क हुनमा आग्रह गरे । ‘प्रवेशद्वार देखि मत गणना स्थल बाहिरको सुरक्षा सशस्त्र प्रहरीलाई र मत गणना कक्षको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई सुम्पेका छौं ।’ उनले भने,‘गलत मानिस प्रवेश नगरुन भनेर चेकजाँचमा पनि कडाई गरिएको छ ।’

कसरी गनिन्छ मत ?

मत गणना स्थलमा कडा सुरक्षा घेराका बीच मत गणना भईरहेकोे छ । सबै मतगणना स्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मत गणना स्थललाई तारजालीले घेरिएको छ । गणकहरु तार जालि भित्र बसेका छन् । मतगणना भईरहेको कोठामा दलका प्रतिनिधीहरुलाईतारजाली भन्दा बाहिरपट्टी राखिएको छ ।

गणकहरुले दलका प्रतिनीधिहरुलाई मतपत्र देखाएर सदर गराएपछि मात्रै मत गन्ने गरिएको छ । मतगणनास्थलमा हरेक दलबाट एक जना प्रतिनिधी बसेका छन् । सबै दलका प्रतिनीधिले हेरेपछि मात्रै मत गनिने भएकोले मत गणनामा ढिलाई भईरहेको छ । महानगरपालिकाको मेयरका लागि ३५ जना र उपमेयरमा १० जनाको उम्मेदवारी परेको छ ।

मत परिणाम पाँच दिन भित्र नआउने

निर्वाचन आयोगले प्रदेश नं २ को सबै स्थानीय तहको मत परिणाम ५ दिन भित्र दिने भनेको छ । तर प्रदेश नं २ को एक मात्र महानगरपालिकाको परिणाम आउन कम्तीमा ८÷१० दिन लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पर्साको अध्यक्ष एवं अधिवक्ता कमलमोहन पोखरेल आपसी विश्वासमा कमी हुँदा मत गणना छिटो हुन नसक्ने बताउँछन् । ‘पहिलो दिनको जुन रफ्तार देखिन्छ । यसले त १० दिन भन्दा बढी लाग्ने जस्तो देखिन्छ ।’ उनले भने,‘गणना टोली थप गराएको खण्डमा भने हप्ता दिनमा परिणाम आउन सक्छ ।’ मत गणनामा राजनीतिक दलले देखाउने व्यवहारले मत गणनाको गति निर्धारण हुने उनको भनाई छ । ‘दलका प्रतिनीधिहरुले विवाद देखाएनन भने मत गणना छिटो हुन्छ । स–साना कुरामा विवाद गरे भने मत गणना छिटो हुन सक्दैन ।’

फोरम नेपालकातर्फबाट वीरगञ्ज महानगरपालिकाका मेयरका उम्मेदवार विजय सरावगीले मतगणनाको व्यवस्थापन फितलो भएकोले मत गणनामा समय लाग्ने देखिएको बताउँछन् । ‘मत परिणाम निकाल्न फुलपातिसम्म लगाउँछन् जस्तो लागि रहेछ ।’ उनले भने ‘व्यवस्थापन फितलो छ । टोली थप्दा परिणाम सही नआउने हो कि भन्नेमा शंका हुन्छ । भएको टोलीले नै गति बढाउन सके राम्रो हुन्थ्यो ।’ सर्वदलिय बैठकमा नै ११ टोलीले गन्ने सहमति भएको उनले बताए । सोमबार भएको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडामा गरी ८४ हजार ३ सय १३ मत खसेको थियो । महानगरमा कुल एक लाख ८ हजार ५ सय १ जना मतदाता रहेकोमा७३ प्रतिशतले मतदान गरेका थिए ।अाजकाे नयाँ पत्रिकामा खबर छ ।