धर्मेन्द्र बास्ताेला भन्छन – चुनावबाट जित्नेहरु आफ्नै सुविधा तोक्नेबाहेक केहि गर्न सक्दैनन्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले दलाल संसदीय चुनावबाट जितेर आउने ‘प्रतिनिधि’हरुले आप्mनै लागि सुविधा तोक्नेबाहेक अन्य केहि गर्न नसक्ने बताएका छन् । तेस्रो चरणको स्थानीय चरणको परिणाम आउने क्रम शुरु हुँदै गर्दा नेता वास्तोलाले दलाल संसदीय व्यवस्थाको अन्त्य नभएसम्म यो क्रम चलिराख्ने बताए ।

नेकपा निकट मगर मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिद्वारा राजधानीको अनामनगरस्थित संवाद डबलीमा मंगलबार आयोजित ‘जातीय मुक्ति र वैज्ञानिक समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता वास्तोलाले एकीकृति जनक्रान्तिपछि स्थापना हुने वैज्ञानिक समाजवादी सत्ताले मात्र जातीय मुक्ति हुने बताए । साथै उनले क्रान्तिको झण्डामुनि गोलबन्द हुन पनि मगरलगायत सबै समूदायसँग आग्रह गरे । ‘गणतन्त्र’पछि पनि देशमा जातीय, क्षेत्रीय र वर्गीय विभेद झनै फस्टाउँदै गुण्डा र दलालहरुको हातमा जाने क्रम शुरु भएको ईन्चार्ज बुढामगरले बताए । त्यसलाई रोकेर जनताको सत्ता चलाउन पनि जनमुक्ति सेना अपरिहार्य भएको उनको भनाई छ ।

अन्तरक्रियामा पूर्वसांसद रामबहादुर थापामगर, ज्ञानेन्द्र पुनमगर, गौबहादुर आलेमगर, लोकबहादुर थापामगर, ध्वजबहादुर बुढामगर, धनबहादुर सुर्यवंशी मगरलगायत नेता तथा अभियन्ताहरुले नयाँ संविधानले जातीय विभेद हटाउन ठोस व्यवस्था गर्न नसकेको भन्दै नयाँ व्यवस्थाबाट मात्र विभेद अन्त्य हुने विश्वास व्यक्त गरे ।

देशले निकास खोजेको टिप्पणी गर्दै क्रान्तिले मात्र समाज समृद्ध हुने उनीहरुको धारणा छ । जातीय उत्पीडन राज्यले नै गरिरहेको भन्दै नयाँ राज्य व्यवस्था अनिवार्य भइसकेको बताए । उनीहरुले विश्व दृष्टिकोण र समाजको आवश्यकतालाई मिलाएर लैजान सकेमात्र नेपाली समाज समृद्ध हुने कुरामा जोड दिए । कार्यक्रममा निभा शाहले क्रान्तिकारी कविता वाचन गरेकी थिइन् ।