शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार

दलालले भनेअनुसार रकम नदिएपछि बोले पीडित

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले छानबिन गरिरहेको छ ।

२० पुस २०७३ मा म्याग्दीको बेनी नगरपालिका–११ घर भएका नवीन खत्रीको मिर्गौला झिकेर बिक्री गरिएको हो । गोरखा घर भएका शम्भुलाल श्रेष्ठमा उनको मिर्गौला प्रत्यारोपण गरिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

कागजी प्रक्रिया पूरा गर्न दलालहरुले खत्रीको नक्कली नागरिकता बनाएका थिए । पोखरामा घर निर्माणको काम गर्ने खत्रीलाई स्थानीय नारायण जीसीले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, ऋणमा गाडी र जागिर उपलब्ध गराउने आश्वासन दिएर काठमाडौं ल्याएका थिए ।