सुरक्षाका हिसाबले सीमा क्षेत्रका मतदान केन्द्र अति संवेदनशील
२ लाख ८० हजार २ सय ११ जना मतदाता रहेको पर्सा जिल्लामा ७३ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ । जिल्लामा तोकिएका १ सय ६७ वटा मतदानस्थलमध्ये बाँकी ७९ वटा मतदान केन्द्र संवेशनशील र बाँकी सामान्य भनी मूल्यांकन गरिएको जिल्ला सुरक्षा समिति पर्साले जनाएको छ ।
भारतसँग सीमा जोडिएका स्थानका सबै मतदानस्थललाई अति संवेदनशील रूपमा विश्लेषण गरिएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि पर्सा जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी मात्रै ३ हजारको हाराहारीमा परिचालन हुनेछन् भने नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई आवश्यकता अनुसार खटाउने गरी सुरक्षा योजना बनाइएको छ ।
‘सुरक्षा चुनौती सोचेभन्दा फरक पनि हुन सक्छ, जस्तोसुकै सुरक्षा चुनौती निराकरण गर्नका लागि आवश्यक प्रविधि अपनाएका छौँ,’ निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘समय र परिस्थितिअनुसार सुरक्षा निकाय परिचालित हुन्छ । पूर्ण रूपमा सुरक्षाको प्रवन्ध गरेका छौँ । मतदाता ढुक्क भएर भोट हाल्न जाँदा हुन्छ ।’ खुला सिमाना, भूमिगत संगठन, निर्वाचन विरोधी विप्लव माओवादी र सिके राउतका गतिविधिलाई सुरक्षा चुनौतिको रुपमा लिएर पर्सामा चुनावका लागि विशेष सुरक्षा रणनीति बनाइएको छ ।पर्सा बारामा बितेको दुई दिनमा पाँच ठाउँमा बम विष्फोट भएको थियो भने पर्सामा भएको विष्फोटमा नेपाल कम्युनिष्ट पार्टी लेखिएको पर्चासमेत भेटिएको थियो ।
सबै मतदान केन्द्रमा कर्मचारी पुगे
निर्वाचनका लागि पर्सा जिल्लामा २ हजार ६२ जना कर्मचारीहरू खटिएका छन् । जिल्लामा रहेका ३ सय ४४ वटा मतदान केन्द्रमध्ये दुई वटाबाहेक सबै मतदान केद्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत गरी ६–६ जनाका दरले कर्मचारीहरू खटिएका छन् ।
दुई वटा मतदान केद्रमा भने मतदाता संख्या ५ सयभन्दा कम भएका कारणले एक–एक जना कर्मचारी कम खटाइएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी गराए । ‘टाढाका कर्मचारी साथीहरु हिजै पुगेका थिए । नजिकका साथीहरू पनि आज पुगेर मतदाता परिचय पत्र वितरण गरिसकेका छन्,’ मुख्य निर्वाचन अधिकृत सुवेदीले भने, ‘कतिपय केन्द्रबाट त ४० प्रतिशतभन्दा बढी मतदाता परिचय वितरण भइसकेको जानकारी म कहाँ आएको छ । ’
उनले सबै मतदान केन्द्रहरुमा मतपत्र, व्यालेट बक्सलगायतका निर्वाचनका लागि आवश्यक सामग्रीहरू पुगिसकेको जानकारीसमेत गराए । ‘शनिबार बिहान ११ बजे १३ वटै स्थानीय तहका निर्वाचन अधिकृतहरुलाई छलफलका लागि बोलाएको छु । कर्मचारी लगायत अन्य केहि सामाग्रीहरु अपुग भएको खण्डमा त्यसको व्यवस्थापन गर्छौं,’ मुख्य निर्वाचन अधिकृत सुवेदीले भने । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि आवश्यक कामहरू तीव्र गतिमा गरिरहेको र अन्तिम चरणमा पुगिसकेको जानकारी दिएको छ ।