दशैं विशेष – ललितपुरमा दशै कार्निभल आयोजना हुने

 ललितपुर,नेपालीहरुको महान चाड विजया दशमी नजिकिदै छ । नेपाली समुदायको विशिष्ट चाड दशैको आफ्नै महत्व र मौलिकता छ । सामाजिक तथा साँस्कृतिक पहिचानको साथै फुर्सदको सदुपयोग र मनोरञ्जनका लागि यो समय पछिल्लो पुस्ताको लागि प्रिय बन्दैछ ।

विजया दशमीको विशेष उपलक्ष्यमा ललितपुरमा दशै कार्निभल आयोजना हुने भएको छ । मनोरञ्जन, प्रतिभाको प्रस्फुटन र एक अर्कावीच शुभकामना आदानप्रदान गर्ने उद्देश्यले दशै कार्निभल–२०१७ आयोजना हुन लागिएको हो ।
ग्ल्यामर आइकन र इन्टरनशनल क्लवले सयुक्त आयोजनामा दशै कार्निभल २०१७ ललितपुरको इन्टरनेश्नल क्लबमा सञ्चालन हुने छ । फ्युचर साउण्ड रेकर्ड प्राइभेट लिमिटेड मुख्य सहयोगी रहेको दशै फेस्टिभललाई अन्य विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् ।

दशैको पहिलो दिन घटस्थापनावाट शुरु हुने दशै उत्सव तीन दिनसम्म चल्ने छ । पहिलो दिन २१ सेप्टेम्वेर अर्थात असोज ५ गते शुरु भई ७ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।  असोज ५ गते विशिष्ट अतिथिहरुवाट उद्घाटन हुने कार्यक्रममा विशेष गरी वालवालिकाहरु लक्षित मनोरञ्जनात्मक प्रस्तुतिहरु हुनेछन् । यसका साथै विभिन्न झाँकीसहित चङ्गा चैटको प्रतिस्पर्धा समेत आयोजना गरिने आइकनका निर्देशक रुप कर्माचार्यले बताउनुभयो । दोश्रो दिन फेशन शो, विभिन्न कलाकारहरुले गायन, नृत्यका साथै पहिलो दिनको उल्लेखित कार्यक्रमहरुलाई निरन्तरता दिइने छ ।

दशै कार्निभलको अन्तिम दिन डिजे रुपेश, डिजे शिशिरलगायतवाट साँगितिक प्रस्तुति र पुल पार्टीसहित समापान गरिने आयोजकले जानकारी दिएका छन् । फेशन शोका लागि फेशन कोरियाग्राफी शनिश शाक्य रहेका छन् ।
निशुल्क प्रवेशको व्यवस्था मिलाइएको दशै कार्निभलमा फुड फेस्टिभल, दशै लक्षित विभिन्न सामग्रीहरुको प्रदर्शनी तथा विक्रीवितरण गरिने जनाएको छ ।